पोखरा रंगशाला फुटबल मैदानमा ग्यालरी ‘सि’ तर्फको सिट जडान सम्पन्न
कपनअनलाइन
पोखरा, मंसिर ९ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ ।
मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट दुई जना प्राविधिक समेत पोखरा आएका छन् । आजमात्रै ९ वटा माल बाहक ट्रकहरु भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन् । ति सामानले पूर्व तर्फको प्यारापिट जडानको काम हुने छ ।
पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र निलो रंगको रहेको छ । ति सिटहरु नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए ।
सागअन्तरगत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको गौरीशंकर खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।