कालापानीबाट विदेशी फौज हटाउँछौं : प्रधानमन्त्री केपी शर्मा ओली
कपनअनलाइन
काठमाडौं,मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने बताएका छन् ।
उनले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरेका छन् । ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् प्रधानमन्त्री ओलीको भनाई थियो ।
नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए।
कार्यक्रममा बोल्दै उनले नेपालको सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन बर्तमान सरकार सक्षम रहेको बताए । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अोलीले यो सरकारले बिदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारेका हुन् ।
उनले आफ्नो सिमाको विषयमा सरकार सम्वाद गर्न सक्ने अवस्थामा रहेको भन्दै अतिक्रमित भूमिबाट विदेशी फौज फिर्ता गराउने दावी गरे । प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । ‘एक केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा छैन । ’ प्रधानमन्त्रीको भनाई थियो ।