उ यता नआओस् !
कपनआनलाइन
काठमाडौं,कार्तिक २९।त्रिलोचन आचार्य/ कबिता
छिमेकले त्यो लिपुलेक तान्यो
मिचेर सुस्ता बलहीन मान्यो
त्यो लिम्पिया नै पनि भन्छ मेरो
यो देश दुख्दा मन भो अँधेरो ।
खप्दै बसे तैँ अझ चेपिनेछस्
छोरा तँ भागे अझ हेपिनेछस्
तस्मात जा जा खुकुरी भिरेर
तँ बस् सिमाना घरको कुरेर ।
खुला सिमाना बहुतै यतै छ
र झ्याल ढोका त्यसका यतै छ
मेरै असाध्यै भर भर्नुपर्छ
भन्दै छ हेप्दै होश गर्नुपर्छ ।
त्यो साँध सारेर यता छ भन्छ
त्यै बाँध बाँधेर डुवाइदिन्छ
भूभाग धेरै छ छुँदै छिमेक
पर्खाल हालौँ अब एक एक ।
ठूलो बनी हेप्दछ हुन्न खप्नु
त्यो टाउकै टेक्दछ, हुन्न खप्नु
लौ भाइ छोरा सब जुट्नुपर्छ
छाडेर निन्द्रा अब उठ्नुपर्छ ।
यो देश प्यारो छ असाध्य हाम्रो
हामी लडाकू अनि बीर राम्रो
भन्छन् सबैले नबसौँ रमाई
जौ जाउँ सीमातिर कुर्नलाई ।
माटो स्वयं यो सब जिन्दगी हो
पानी यहाँको नव रोशनी हो
हिमाल हो शान हुँदैन झुक्नु
जोगाउँ यी सम्पति हुन्न लुक्नु ।
लागेर गोलीसरि छुट्नुपर्छ
छाडेर निन्द्रा अब उठ्नुपर्छ
पापी गरी चित्त कतै नधाओस्
नाघेर काली उ यता नआओस् ।