मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आह्वान
कपन अनलाइन
धनगढी, २ फागुन । प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न आज आह्वान गरेका छन ।
प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रकाशित सूचनामा नेपालको संविधानको धारा १६८ को उप धारा–१ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत रहेको नदेखिएकाले उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्रीमा नियुक्त हुन यही फागुन ४ गते दिउँसो ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न आह्वान गरिएको उल्लेख गरिएको छ ।
प्रदेश प्रमुखको आह्वानपछि सम्भवतः आजै वा भोलि बिहानसम्म नेकपा (एमाले) र माओवादी केन्द्रको बहुमत सांसदको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भन्ने दाबी पेश गर्ने तयारी गरिएको छ ।
एमालेका प्रदेश सांसद प्रकाश शाहले एमाले र माओवादी केन्द्रका बहुमत प्रदेश सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेश हुन लागेको राससलाई जानकारी दिए । प्रदेश नम्बर ७ मा एमालेका २५ माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद हुन।