प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त

प्रदेश नं २ को मुख्यमन्त्रीमा राउत नियुक्त

कपन अनलाइन 

महेन्द्रनगर धनुषा, २ फागुन । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् ।राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका  थिए।

प्रदेश प्रमुख रत्नेश्वर कायस्थले आज फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा राउतलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

कायस्थले मन्त्रिपरिषद् विस्तारका लागि समेत राउतलाई पत्र दिएका छन् । योसँगै मन्त्रिपरिषद्को लागि बाटो खुलेको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि राउतले संक्षिप्त प्रतिक्रिया दिँदै भने–’मधेसी शहीदको सपना साकार भएको छ ।’

फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले बिहीबार शपथग्रहण गर्नेछन् । पर्साबाट प्रदेशसभामा निर्वाचित राउत संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुन् ।राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति भएका  छन्  ।

तपाइँको प्रतिक्रिया ।