व्यावसायिक बन्दै पाल्पाको छुर्पी

व्यावसायिक बन्दै पाल्पाको छुर्पी

कपन अनलाइन 

पाल्पा, १ फागुन । पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ ।
पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ ।

छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँदै आएपनि पछिल्ला वर्ष यहाँ उत्पादित छुर्पीले पाल्पाली पहिचान बनाउन सफल बनेको छ । पाल्पामा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ ।

जिल्ला पशुसेवा कार्यालय, पाल्पाका प्रमुख डा प्रदीप शर्माका अनुसार जिल्ला सदरमुकाम तानसेनमा रहेका श्रीनगर दुग्ध डेरी र गोरस घरमा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिन्छ । प्रशस्त दूध उत्पादन हुन थालेपछि पाल्पामा ठूलो मात्रामा छुर्पी उत्पादन गर्नाले दूधको खपत बढेको हो ।

किसानले उत्पादन गरेको दूध उपभोक्तामा वितरण गरेपछि बाँकी रहेको दूध खेर फाल्न नपरोस् भनी डेरीले छुर्पी उत्पादन गर्न थालेपछि नाम र दामसमेत कमाउन सफल भएको छ । व्यावसायिक रुपमा उन्नत गाईपालन गर्न थालेपछि दुग्ध डेरी छुर्पी उत्पादनप्रति आकर्षित भएका छन् । वार्षिक रु ४५ लाखको छुर्पी पाल्पा बाहिर निर्यात हँुदै आएको छ । हाल रु एक करोड ४० लाखको छुर्पी अझै स्टकमा रहेको श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमकान्त न्यौपानेले बताए ।

छुर्पीको लौरालाई रु ८०० र काटेको छुर्पीलाई रु ९०० प्रतिकिलोमा बिक्री गर्न बाध्य भएको डेरीका सञ्चालन रोमकान्त न्यौपानेले बताए । इलामको फिक्कलमा करिब एक महिना छुर्पी बनाउने तरिका सिकेर आएपछि दैनिक दुई हजार १०० लिटरभन्दा बढी दूधको छर्पी उत्पादन हुँदै आएको उनको भनाइ छ ।

पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ उत्पादित पाल्पाली छुर्पी स्याङ्जा, पोखरा, बागलुङ, काठमाडाँै, रुपन्देही, नवलपरासी र नारायणघाटमा खपत हुँदै आएको छ ।

जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेको कार्यालयका प्रमुख डा प्रदीप शर्माले बताए । पाल्पामा उत्पादित सात मेट्रिक टन छुर्पी जिल्ला बाहिर खपत हुँदै आएको शर्माले बताए ।

जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेसँगै २० जनाभन्दा बढीले डेरीमा नै रोजगार पाउन सफल भएका छन् ।

तपाइँको प्रतिक्रिया ।