प्रदेश सांसद पन्थीद्वारा क्याम्पसलाई रु १५ लाख सहयोग
कपन अनलाइन
जितपुर, कपिलवस्तु, २८ माघ । प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले यहाँको एक क्याम्पसलाई शनिबार रु १५ लाखभन्दा बढी सहयोग गरेका छन ।
वाणगंगा–४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गरेका हुन्। सांसद पन्थीले क्याम्पसको स्तरोन्नतिका साथै आजको युगमा प्राविधिक शिक्षाको अनिवार्य आवश्यता भएको हुँदा प्राविधिक शिक्षाका लागि आफूले सहयोग गरेको बताए ।
कपिलवस्तु क्षेत्र नं १ (क) बाट भारी मतले प्रदेश सांसदमा विजयी हुनुभएका पन्थी नेकपा एमालेका प्रभावशाली नेताको रुपमा चिनिन्छन। प्राविधिक शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई घटाउदै पशु र बाली विज्ञान विषयको अध्यापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविबहादुर काफलेले जानकारी दिए ।
यही माघ २६ गतेदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह धनधान्याचल ज्ञान महायज्ञको दोस्रो दिन रु १७ लाख ६ हजार ४०० रकम दान संकलन भएको महायज्ञ प्रचारप्रसार संयोजक युवराज पोख्रेलले बताए । त्यसैगरी, कमला भट्टराईले रु एक लाख ११ हजार १११, लालमणि न्यौपानले रु ५० हजार १५१, विष्णुप्रसाद भट्टराईले रु २५ हजार ५५५ र हरिहरपुर गाउँ समाजबाट रु ११ हजार १३५ दान संकलन भएको छ ।
महायज्ञको प्रमुख वाचक दीनबन्धु पोखरेल छन् । पोखरेल नेपालकै चर्चित कथावाचक भएको कारण हजारौँ दशनार्थीको उपस्थिति रहेकोे आयोजकले जनाएको छ । महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।