गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सामुदायिक विध्यालयमा निशुल्क कोचिङ कक्षा संचालन
कपन अनलाइन
काठमाडौ,माघ २६।
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको ओख्रेनी माध्यमिक विद्यालयमा निशुल्क कोचिङक कक्षा संचालन कार्यक्रमको उद्घाटन गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाले नगर भित्र सबै सामुदायिक विद्यालयमा कक्षा १० का लागि निशुल्क कोचिङ सञ्चालन गर्ने भएको छ।
उक्त निशुल्क कोचिंग कक्षा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने विशेष अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, स्रोत ब्यक्ति राम नारायण शाह, गोकर्णेश्वर नगरपालिका शैक्षिक मस्यौदा समितिका सदस्य श्रीकृष्ण ज्योति, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा सदस्यहरु , बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले गरेका थिए । नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा विहान ७ बजे देखि ९ बजे सम्म १ महिना १५ दिनका लागी विशेष गरी गणित र विज्ञानको कोचिङ हुने छ । कक्षा १० को एस .ई.ई परिक्षालाई लक्षित गर्दै कोचिङ कक्षा संचालनमा ल्याईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका सन्तोष चालिसेले सामुदायिक बिद्यालयले संस्थागत बिद्यालयको भन्दा नतिजा तुलनात्मक रुपमा कमजोर भएको हुँदा सामुदायिक बिद्यालयको नतिजा सुधार गर्ने उदेश्यले उक्त कार्यक्रम अघि बढाएको बताए।
उनले नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको शैक्षिक स्तर बढाउन लगानी गरेको पनि जानकारी दिंदै बिद्यार्थीहरुलाई कोचिंग कक्षा बाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले शिक्षा लिने अधिकार सबै विद्यार्थीहरुको भएको र नबुझिएका विषय वस्तु पटक पटक शिक्षकलाई सोध्न विद्यार्थीलाई आग्रह गरेका थिए ।
उनले कुनै शिक्षकको पठन पाठन नबुझिए विशेष आग्रह सहित अर्को शिक्षक खटाउने जानकारी समेत दिए । सामुदायिक विद्यालयहरु सबै कुराले सम्पन्न भए पनि विद्यार्थीले ल्याउने नतिजा कम्जोर भएकोमा उनले गुनासो पोखेका थिए । उनले अब शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्याउने शिक्षक एंव जेहेन्दार विद्यार्थीलाई सम्मान गर्ने समेत जानकारी दिए ।
सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले शिक्षकहरु तलब पकाउने मानाशिकताले मात्र सामुदायिक विद्यालयमा कार्यरत भएको गुनासो गरेका थिए ।
उनले जेहेन्दार विद्यार्थी त्यतिकै उत्पादन हुदैन त्यस्ता विद्यार्थीहरु उत्पादन गर्नका नीमित्त शिक्षकहरुको ठुलो भुमिका रहेको हुदा सबै शिक्षकलाई आफ्नो काम प्रति जिम्मेवार हुन आग्रह गरेका थिए ।