जिल्लाका तीन ठाउँमा ट्राफिक बत्ती राखिने

जिल्लाका तीन ठाउँमा ट्राफिक बत्ती राखिने

कपन अनलाइन 

ललितपुर, २३ माघ । जिल्लामा तीन ठाउँमा ट्राफिक बत्ती राख्न लागिएको छ । यसअघि कुनै पनि ठाउँमा ट्राफिक बत्ती नभएकोमा ललितपुर जिल्लामा पहिलो पटक राख्न लागिएको महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख ९प्रहरी निरीक्षक० सीताराम हाछेथुले बताए। जावलाखेल को अल्का अस्पताल अगाडि, पुल्चोकको मन्त्री क्वार्टर अगाडि र कुपण्डोलमा कानदेवतास्थानमा ट्राफिक बत्ती राख्न लागिएको हो ।

ललितपुर महानगरपालिकासँगको सहकार्यमा बत्ती जडान हुन लागेको हो । यी स्थानमा ट्राफिक बत्तीको पहिलेदेखि नै आवश्यकता रहेको उनि बताउछन् । उनले भने, “यसले गर्दा ट्राफिक र चालक दुवैलाई सजिलो हुनेछ ।”

तीन ठाउँमा ट्राफिक बत्ती हुँदा थापाथलीको दैनिक हुने जाम कम हुनाका साथै दुर्घटना कम हुनेछ । सडकमा बत्ती हुँदा ट्राफिक प्रहरीको जनशक्ति कम भए पुग्नेछ । उनले भने, “अहिले चारजनासम्म बस्ने गरेको यी चोकमा अब एक जना ट्राफिकले व्यवस्थापन गर्न सक्छन् ।” यसअघि जुनसुकै समयमा र तीव्र गतिमा चलाइरहेकामा चालकहरुले अब भने बत्ती हेरेर गति सीमित गर्नुपर्नेछ ।

ट्राफिक प्रहरीलाई भन्दा ट्राफिक बत्तीलाई चालकले सजिलै र टाढाबाट नै देख्ने उनले बताए । ट्राफिक बत्ती जडान भएपछि सडक अनुशासन कायम भई दुर्घटना कम हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।