डा रुइतलाई पद्मश्री सम्मान

डा रुइतलाई पद्मश्री सम्मान

कपन अनलाइन 

काठमाडौँ, १२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेका  उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योेगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो ।

समारोहमा राजदूत पुरीले नेपाली नागरिक डा सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने निर्णय भारत सरकारले गरेको जानकारी दिँदै यसै वर्ष विशेष समारोहमा उक्त सम्मान प्रदान गरिने बताए । भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै उनले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर छ भने।

आजै बिहान भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसमा अवसरमा भारतका राष्ट्रपतिले जारी गरेको सन्देश वाचन गरेका थिए ।

उनले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गरे। समारोहमा नयाँदिल्लीस्थित ‘ऋषि’ नामक सांगीतिक समूह र नेपाली सेनाको एउटा टोलीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।