राष्ट्रियसभाको ५६ सिटमा आज मनोनयन दर्ता हुँदै

 कपन अनलाइन 

माघ २४ गतेका लागी तय भएको राष्ट्रियसभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मनोनयन दर्ता गरिने छ।

५९ सदस्यीय राष्ट्रि सभामा ५६ सिटका लागि मनोनयन दर्ता हुँदैछ। बाँकी तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

निर्वाचन कार्यालयले बुधबार बेलुका ४ देखि ५ बजेसम्म उम्मेदवार दर्ता सूची प्रकाशन गर्ने छ भने माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिनेछ।त्यसैगरी माघ १३ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवार विरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

माघ १५ गते दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ बजेदेखि ४ बजेसम्म राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र बेलुकी ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका रहेको छ। माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदान हुने छ ।

राष्ट्रियसभा सदस्य चुनावमा ५ सय ५० जना प्रदेशसभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २ हजार ५६ जना मतदाता छन्।

तपाइँको प्रतिक्रिया ।