कपनमा यस वर्षको वर्षाले पारेको क्षतिका बारेको प्रतिवेदन सार्वजनिक

कपन अनलाइनयो वर्ष असार र साउन महिनामा परेको वर्षाका कारण कपन भएको क्षतिका बारेमा एक प्रतिवदेन सार्वजनिक भएको छ । कपन गाविस विपद् व्यवस्थापन समिति र कपन गाविसमा विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिको रुपमा गएका अनुगमन समितिका सदस्यहरु सम्मिलित टिमले यो प्रतिवेदन तयार गरेको हो । कपन गाविसको वडा नं. १ देखि ९ सम्मको अध्ययनले यस टिमले १४ ठाउँमा सम्भावित क्षतिको सम्भावनासहितको विवरण देखाएको छ । कपन गाविस विपद् व्यवस्थापन समितिका केदार खड्का र सुदर्शन के.सी.का साथमा अनुगमन समितिका विनोद पौडेल, माधव चापागाई, राजु अधिकारी, टंक सापकोटा र मुरारी भण्डारी सम्मिलित समितिले यो क्षतिको विवरण संकलन गरेको थियो ।

kapan_pahiro

करिब ३८ लाख बराबरको क्षति भएको देखाइएको प्रतिवेदनमा ६ ठाउँलाई उच्च जोखिम क्षेत्र जनाइएको छ । क्षतिको स्थान, विवरण, प्रभावित घरधुरी र अनुमानित निर्माण खर्च गरेर बनाइएको प्रतिवेदनमा अनुमानित निर्माण खर्च रकम बारेचाहिँ गाविसका प्राविधिक विनोद पौडेलले अनुमान गरेका छन् । यद्यपि जोखिम वा उच्च जोखिमको मापन कसरी गरियो भन्ने बारेमा भने प्रतिवेदन मौन छ । जोखिम वा उच्च जोखिमका बारेमा जान्नका लागि भूसंरक्षणविद् वा त्यस किसिमको प्राविधिकबिनाको समिति नभएकोले अध्ययन सामान्य र सतहि रहेको गाविस अनुगमन समितिका सदस्य मुरारी भण्डारी कपन अनलाइनलाई बताए ।
९० प्रतिशत क्षतिको सम्भावित क्षेत्रचाहिँ मानवसिर्जित समस्याका कारणले उत्पन्न भएको अनुगमनको क्रममा देखिएको अनुगमन समितिका सदस्य टंकप्रसाद सापकोटाले कपन अनलाइनलाई भने । उनले कपनको १ र ३ मा भएको अधिकांश समस्या खोलालाई ढल बनाउँदा गरिएको गल्तिका कारणले भएको पनि औंल्याए ।
वर्षाले क्षति भयो भनेर विभिन्न क्षेत्रबाट मानिसहरु गाविसमा आएपछि गाविसले विपद व्यवस्थापन समितिलाई अनुगमन गर्न लगाइएको गाविस सचिव लोमस आचार्यले कपन अनलाइनलाई बताएका छन् । प्रतिवदेनमा उल्लेखित १४ जोखिमयूक्त क्षेत्रमध्ये तत्काल निर्माण गर्नु पर्ने ३ ठाउँका लागि गाविसले पहल गरिसकेको पनि सचिव आचार्यले जनाए । उनका अनुसार कपन १ नंं. फैका चोक निजिक चखुन्चा खोलाको पाइप फुट्दा भएको खाल्डो र पिचको नोक्सानी, आनी गुम्बा नजिक ढल फुटेको ठाउँ तथा सिद्धेश्वर मन्दिर नजिको पहिरोलाई बनाउन तदारुकता देखाइएको छ ।

 

क्षतिको विवरण यस प्रकार रहेको छ

१. वडा नं. १ को तेन्जिङचोक मार्गः मंगल फुटेर मूल सडकको पिच नोक्सान । निर्माणका लागि अनुमानित रकम रु. १००,००० ।

२. वडा नं. १ आनी गुम्बा ढुंगेन सडक खण्डः पानीको उच्च वहावको कारण सम्पूर्ण ढलको मंगल फुटेको । ३५ घरधुरी प्रभावित । निर्माणका लागि अनुमानित रकम २५०,००० । बस्ति नै जोखिममा ।
३. वडा नं. २ को सूर्योदय कोलनीः मंगल फुटेर पिच सडक नोक्सान । निर्माणका लागि अनुमानित रकम रु. १००,००० । बस्ति नै उच्च जोखिममा ।
४. वडा नं. ३ सिद्धेश्वर मन्दिर छेउः पहिरोकारण १० घरधुरीको बाटो बन्द हुने अवस्था । निर्माणका लागि अनुमानित रकम रु. ४००,००० । उच्च जोखिम क्षेत्र ।

 

५. वडा नं. ३ बालुवाखानीः पानीले बाटो क्षतिग्रस्त । निर्माणका लागि अनुमानित रकम रु. ५०,००० ।
६. वडा नंं ६ सेतीदेवी मन्दिरः पहिरोले मन्दिर र घरहरु प्रभावित । निर्माणका लागि अनुमानित रकम रु. १००,००० ।
७. वडा नंं. ६ पलाञ्चोक भगवती मन्दिर छेउः विभिन्न स्थानमा पहिरो जानाले घर, मन्दिर र कुवा प्रभावित । निर्माणका लागि अनुमानित रकम रु. १००,००० ।
८. वडा नं. ६ अमिताभ फाउण्डेसनको गुम्बा तल दक्षिणी क्षेत्रमाः दुई ठाउँमा पहिरो जानाले १० घर तथा गुम्बाको पर्खाल जोखिममा । निर्माणका लागि अनुमानित रकम रु. १,०००,००० । एक घर विस्थापित भैसकेको रबाँकी घरहरु उच्च जोखिममा । गुम्बाबाट आएको पानीको कारण उत्पन्न समस्या ।
९. वडा नं. ६ आनी गुम्बा पछाडि वडा नं. ६ र ८ को सिमानाः बाटोको रिटेनिङ वाल नोक्सान तथा घरसमेत जोखिममा । निर्माणका लागि अनुमानित रकम रु. ३००,००० । उच्च जोखिम ।

१०. वडा नंं ६ अन्तर्गत गुरुङटोलः वर्षाका कारण साइड पर्खालमा क्षति । निर्माणका लागि अनुमानित रकम रु. ५०,००० ।

११. वडा नंं ७ कृष्ण मन्दिर दारेगौडा सडकः वर्षाको कारण विभिन्न ठाउँमा बाटोको क्षति भएको । निर्माणका लागि अनुमानित रकम रु. ५००,००० ।

१२. वडा नं. ९ को दारेगौंडा पैयाँटार मार्गः वर्षाको कारण विभिन्न ठाउँमा बाटोको क्षति तथा पानीको मुहान जोखिममा । सडक तथा २५ घरको खानेपानी मुहान जोखिममा । निर्माणका लागि अनुमानित रकम रु. ७००,००० । उच्च जोखिम क्षेत्र ।

१३. वडा नं. ९ को शक्लिया धारा खानेपानीः पानीको मुहानमा क्षतिका कारण ५० घरधुरी प्रभावित । निर्माणका लागि अनुमानित रकम रु. ५०,००० । उच्च जोखिम क्षेत्र ।

१४. वडा नंं. ६ र २ को आनी गुम्बा अगाडिः वर्षाका कारण पिच सडक क्षति हुँदै गएको । निर्माणका लागि अनुमानित रकम रु.१००,००० । क्षति बढ्दै गएको ।

 

तपाइँको प्रतिक्रिया ।