किर्कुकमा दुई गुप्तचर मारिए
कपन अनलाइन
किर्कुक, इराक, १३ पुस । पछिल्लो समयमा प्रायः अशान्त रही आएको इराकको किर्कुक सहरमा बुधबार यहाँको गुप्तचर निकायका दुई जना सदस्यको हत्या गरिएको बताइएको छ । अज्ञात बन्दुकधारीको आक्रमणमा परी बुधबार ती दुई जना सदस्य मारिएको समाचारमा जनाइएको छ ।
इराकको राजधानी बग्दादबाट करिब २५० किलोमिटर टाढा रहेको उत्तरी किर्कुकको राजमार्गमा बुधबार अपराह्न बन्दुकधारीले गुप्तचर निकायको दुई सदस्य चढेको सवारी साधनमा आक्रमण गरेका थिए ।
आक्रमणपछि आक्रमणकारीहरु सो इलाकाबाट भागेका थिए । उनीहरुको खोजी भइरहेको बताइएको छ, तर बिहीबारसम्म उनीहरु पक्राउ नपरेका अधिकारीहरुले जनाएका छन् ।
सलाउद्दिन प्रान्तका अधिकारीहरुले बुधबार विहान सवेरै यहाँको शरणार्थी शिवीरबाट करिब २ सय परिवार दक्षिणपश्चिम किर्कुकमा फर्किन लागेको सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
किर्कुक प्रान्तमा आइएस लडाकूको आक्रमण बढेको कारण ती परिवार सलाउद्दिन पुगेका थिए । हाल सो क्षेत्रबाट आइएस लडाकू भागिसकेका छन् । उक्त क्षेत्रलाई इराक सरकारले आइएस मुक्त क्षेत्रका रुपमा यसअघि नै घोषणा गरिसकेको छ ।