कपनका दलित बालबालिकालाई विशेष उपहार बाँडिने
कपन अनलाइनकपन गाविसमा बसोबास गरेर बसिरहेका दलितवर्गका बालबालिकालाई कपन दलित उत्थान समितिले विशेष उपहार बाँड्ने भएको छ । कपनमा रहेको करिब १००० को संख्याका दलितहरुलाई लक्षित गरिएको यो कार्यक्रममा ३ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई अमेरिकाबाट ल्याइएको उपहार बाँडिन लागिएको हो । श्रावण ५ गते शनिवार आयोजना हुने विशेष कार्यक्रममा यो उपहार बाँडिने कपन दलित उत्थान समितिका अध्यक्ष अर्जुन रिजाल (वि.क.)ले कपन अनलाइनलाई बताए । अध्यक्ष अर्जुनका अनुसार यस वर्ष कपनबाट प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ट हुने छात्र र छात्रालाई पनि सम्मान गरिनेछ साथै कपनमा बसोबास गरी नेपाली राष्ट्रिय खेलाडि बन्न सफल विशाल श्रेष्ठलाई पनि विशेष सम्मान गरिने उनले जनाएका छन् ।
अमेरिकाबाट ल्याइएको उपहार भने कपनमा सामाजिक क्षेत्रमा कृयाशिल सागर बैजुले व्यवस्था गरेका हुन् । यस अघि पनि कपनका अन्य क्षेत्रमा यस्तो उपहार प्रदान गरिसकेका बैजुले समाजको सबैभन्दा निम्न वर्गलाई दिन लागिएको हुनाले कपन दलित उत्थान समितिको कार्यक्रमप्रति उत्साहित रहेको बताउँदै यसपछि कपनको सबैभन्दा कान्छो सामुदायिक विद्यालय चार्टर स्कूललाई पनि यो किसिमको उपहार दिइने बताए ।
कपनमा सबैभन्दा कृयाशिल दलित संस्थाको रुपमा परिचित कपन दलित उत्थान समितिले आयोजना गर्न लागिएको विशेष कार्यक्रममा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा प्रमुख अतिथि रहने संस्थाका सचिव राजु परियारले जनाए । उपहार वितरण तथा सम्मान नामको कार्यक्रममा कपन गाविसका राजनीतिक दलका अध्यक्षहरुसहित विभिन्न संघ संस्था प्रतिनिधिहरु विशेष अतिथिको रुपमा बोलाइने सचिव परियारले जनाएका छन् । कार्यक्रम कपन १ स्थित उसु कुन्फु क्वानमा हुनेछ ।