काश्मिरमा भारतीय र पाकिस्तानी सेनाबीच तनाव बढ्दै
कपन अनलाइन
एजेन्सी, ११ पुस । भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान भएपछि उक्त क्षेत्रमा विवाद झनै बढ्ने संकेत देखिएको छ । काश्मिरको रजौरी सेक्टरमा पाकिस्तानी सेनाले चलाएको गोली लागी ४ जना भारतीय सेनाले ज्यान गुमाएका थिए ।
गत शनिबार युद्ध विराम उल्लंघन गर्दै पाकिस्तानी सेनाले रजौरी सेक्टरमा गोली चलाएको थियो । गोली लागी ४ जना भारतीय सेनाको ज्यान गएको थियो । लगत्तै जवाफ स्वरुप भारतीय सेना पनि नियन्त्रण रेखा पार गरी ३ जना पाकिस्तानी सेनालाई गोली हानी मारेको समाचार माध्यमले जनाएका छन् । उक्त घटनामा एकजना पाकिस्तानी सेना घाइते भएको खुफिया स्रोतलाई उद्धृत गर्दै एएनआई समाचारले लेखेको छ । तर यो समाचारको औपचारिकरूपमा अहिलेसम्म पुष्टि भएको छैन ।
शनिबार पाकिस्तानी सेनाको गोली लागी शहादत प्राप्त गर्नेमा भारतीय सेनाका १ मेजरसहित अन्य ३ जना सैनिक रहेको सञ्चार माध्यमले जनाएका छन् ।