तालिवानसँग वार्ता गर्न अफगान सरकारलाई चीनको आग्रह

तालिवानसँग वार्ता गर्न अफगान सरकारलाई चीनको आग्रह

कपन अनलाइन  

एजेन्सी, ११ पुुस । अफगान सरकारलाई तालिवान विद्रोहीसँग वार्ता गर्न चीनले आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ इले सरकार र तालिवानबीच वार्ता हुनु पर्ने बताएका हुन् ।

मंगलबार पहिलो पटक चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीबीच बेइजिङमा भएको छलफलका क्रममा वाङले यस्तो आग्रह गरेका हुन् । साथै अफगान सरकारको नेतृत्वमा हुने शान्ति तथा पुनर्निर्माण प्रक्रियालाई चीनले पूर्णरूपमा सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीले बताएका छन् । त्यस्तै चीनद्धारा अगाडि सारिएको बेल्ट तथा रोड इनिसियटिभले पाकिस्तान र अफगानिस्तानका लागि विभिन्न अवसर सिर्जना गर्ने समेत वाङले जनाएका छन् ।

छलफलका क्रममा अफगान विदेशमन्त्री सलाहुद्दिन रब्बानीले पाकिस्तान र अफगानिस्तानबीचको सहकार्य तथा क्षेत्रीय सुरक्षालाई प्रवद्र्धन गरेकोमा चीनलाई धन्यवाद दिएका थिए । उक्त अवसरमा पाकिस्तानी विदेशमन्त्री खवाजा असिफले आफ्नो देश अफगानिस्तानको सबैभन्दा ठूलो व्यापार साझेदार भएको, दुबै मुलुकको सँस्कृति साझा भएको र स्थिरता तथा समृद्धि दुबै मुलुकका लागि महत्वपूर्ण रहेको बताएका थिए ।

विदेशमन्त्री स्तरीय उक्त छलफलमा सुरक्षा, मेलमिलाप, विकास सहकार्य तथा सडक सञ्जाल निर्माणबारे छलफल भएको थियो । पहिलो पटक त्रिदेशीय छलफलले पाकिस्तान तथा अफगानिस्तानबीच हालै उत्पन्न विवाद तथा तनावलाई कम गर्ने अपेक्षा गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।