माफ गर्नुस “यात्री सर” तपाइले चिनाएको कपनले तपाइलाई सम्झेन
कपन अनलाइन
काठमाडौ,पौष ६ /पुन्यराज पुडासैनी
हिजो पौष ५ गते अन्वेषक ,साहित्यकार तथा नेपालका संस्कृतिका अध्यता पूर्ण प्रकाश नेपाल “यात्री “ को स्मृति दिवस हो ।यस दिनमा कपन क्षेत्र जसलाई चिनाउन यात्री सर्को अथक योगदान रहयो त्यस क्षेत्रमा कुनै औपचारिक कार्यक्रम गरेर उनको सम्झना गरिएन । न त् उनको नाम मा स्थापित भएका संस्था वा उनले विविध रोगले जिर्ण बनेको बृद्ध शरीर खियाएर स्थापना गरेका संघ संस्थाले नै औपचारिक रुपमा सम्झिए ।
विक्रम सम्बत १९९१ शाल श्रावण ४ गते भोजपुरको कटुन्जेमा जन्मिएका यात्री त्यस्ता यायावर हुन् जसले नेपालका तत्कालिन ३९१२ गाविस मध्ये ३९०७ गाविस भ्रमण गरेर नेपालका विवध पक्ष हरुको वारेमा नेपाल र विश्वलाई जानकारी गराएका थिए । साहित्य र संस्कृत मा राम्रो दख्खल राख्ने उनले अन्य जस्तै केहि दिनको मोफशल भ्रमण गरेर ठुला ठुला ग्रन्थ लेखि नेपाल बुझेको बर्गमा आफ्नो नाम लेखाउन सक्थे होला तर जन संस्कृति जनताको घर दैलोमा नपुगी बास्तविक रुपमा आउदैन भनेर उनले आफ्ना जीवनका कयौ उर्वर बसन्त दुर दराजमा यात्रा गरेर विताए जसको परिणाम स्वरूप उनका कृति अहिले सबै भन्दा धेरै प्रयोग हुने सन्दर्भ सामाग्री बनेका छन ।
यस सामग्रीमा उनले देश देशान्तर गरेर पाएको उपलव्धि र रास्ट्रिय योगदान भन्दा पनि उनले आफ्नो प्रकाश निकुन्ज स्थापना गरेर कपन क्षेत्रमा पर्याएको योगदानलाई सम्झिने प्रयास गरिएको छ ।
उनले आफ्नो निवासको नामकरण गरे जस्तै यात्री सरको यस क्षेत्रको बसाइले यस क्षेत्रको शैक्षिक उन्नयन र पहिचान स्थापना गर्ने अभियानमा निकै ठुलो योगदान पुर्याएको छ । यो पंक्तिकार जस्तै यो सम्झना आलेख पढ्दा धेरैले उहालाई सम्झिने छन । यात्री निवासको भुइँ तला जहाँ छिर्दा उहाको चमकदार दारी सहितको आकृति सम्झने छन अझ कोठा भरि सजाएका ति प्रमाण पत्र र पुस्तकको ठेली संगै बसेको त्यो प्रेरणादायी व्यक्तित्व र त्यो ओजपूर्ण आवाज सम्झने छन । त्यो स्मृति अव केवल स्मृतिका पानामा मात्र सिमित रहने छ ।ति हजारौ बहुमुल्य पुस्तक र सयौ पाण्डुलिपिहरुको संग्रह जहाँ पुरा नेपाल समेटिएको थियो ति पनि झल् झल् मानस पटलमा आइरहेछन ।
म यो लेख्दै गर्दा पहिलो भेट सम्झी रहेछु जुन वेला म केवल १७ वर्षको युवा थिए र एउटा अनुभवहीन पात्र थिए जो साहित्य मा रुची राख्दथ्यो न बुझे पनि र त्यहाँ एउटा नाटक देखाउने इच्छा प्रकट गर्दै गएको थियो । त्यस वेला स्थानीय स्तरमा नाटक देखाउने इच्छा रहेको तर कुनै अनुभव र ज्ञान नभएको बताउदा उहाले भनेको शव्द सम्झिरहेको छु । उहाले भनेको “सोच सबै भन्दा ठुलो हो र सोचे पछी सबै कुरा गर्न सकिन्छ ल नाटक भयो हुन्छ म छु” यहि वाक्य हो जसले त्यस समयको कपनमा ९ वटा नाटक जन्मायो र देखायो ।
कपन को शाव्दिक अर्थको खोज गर्ने कार्यमा यात्री सर्को योगदान र यस क्षेत्रको साहित्यिक र शैक्षिक विकासमा उनले खेलेको भूमिका सायदै कुनै शव्दमा लेख्न वा बयान गर्न सकिएला तर समयको विडम्बना ति कपन रत्नलाई अहिले कहिँ कतै औपचारिक रुपमा सम्झना गरिएन ।
न उहाले आफ्नो ज्ञान बाडेको शिक्षालयले सम्झियो न उनले आफ्नो बृद्ध हाड खियाएर बनाएका कुनै संघ संस्थाले सम्झिने कोसिस गरे । न त् उनले आफ्नो ज्ञान दिएर ,आफ्नो सिफारिस चडाएर स्थापित गरेका हामी जस्ता कुनै व्यक्तिले नै सम्झियौ ।सायद समयको नियति भनौ कि मानवीय स्वभाव कपनको पहिचान निर्माण गर्ने एउटा हस्तीलाई आधुनिक ,विकशित र प्रभावशाली कपनले बिर्सियो ।
यात्री सरलाई कुनै शव्द ले श्रदान्जली अर्पण गर्न सक्ने सामर्थ्य र हैसियत पक्कै हामी संग छैन वा भनौ त्यो ठाउँ हामीले राखेनौ ।तर पनि आत्माको अन्तर बाट यति स्वीकारोक्ति बान्छनीय होला “माफ गर्नुस यात्री सर तपाइले चिनाएको कपनले तपाइलाई विर्सियो ” माफ गर्नुस ।