न प्रचण्ड आए, न राजेश हमाल र करिश्मा नै आए !
कपन अनलाइनछुवाछुतमुक्त कपनको नाममा पछिल्लो एकमहिनादेखि भैरहेको तयारी तथा विवादको श्रृंखला सकिएको छ । आज विशेष सार्वजनिक कार्यक्रमका साथ समापन गर्न लागि तयारीमा जुटेको आयोजक संस्था अन्ततः कार्यक्रम खासै विशेष नबनी सकियो । एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथि बनाएर कार्यक्रमलाई विशेष रुप दिन चाहेको संस्थाले ठूलो कोशिसका बावजुद पनि उनी आउन सकेनन् । पार्टीमा एक्कासी बढेको चरम आन्तरिक कलहले उनी नआएका भए पनि कपनका स्थानीयले भने आयोजकको पहँुच प्रचण्डसम्म नरहेको महशुस गरे ।
यद्यपि विभिन्न राष्टिय तथा स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति प्रदान गरेर कार्यक्रममलाई सांगीतिक दिनको रुपमा भने मनोरञ्जन दिएका थिए । चलेका गायक शम्भु राई, रोज मोक्तान, यश कुमारलगायतका कलाकारहरुले सांगीतिक प्रस्तुति दिए पनि छुवाछुतमुक्त कपनको विषयमा कार्यक्रमले त्यति ठूलो प्रवेश गर्न सकेन । कार्यक्रम स्थलबाहिर रहेको प्रतिवद्धता भन्ने शीर्षकमा हस्ताक्षर संकलन तथा कार्यक्रम सञ्चालिका शर्मिला परियारले बेलाबेलामा उठाएका विषयबाहेका छुवाछुत मुक्त कपनको स्वरुपमा कसैले महशुस गर्न सकेका थिएनन् ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथि बनाउने नाममा आयोजक संस्था र एमाओवादी कपनले सहआयोजलगायत कांग्रेस, एमालेलगायतका दलसँग सम्बन्ध समेत चिसो बन्यो तर प्रचण्ड नाआइदिँदा कार्यक्रमको महत्वसमेत घटेको उपस्थित सबैले महशुस गरे । प्रचण्डमात्र नभई प्रचार गरिएका राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा लगायतका कलाकारसमेत कार्यक्रममा उपस्थित भएनन् । प्रचण्डको दुतका रुपमा प्रमुख अतिथि बनेको कृष्णबहादुर महराका साथमा मध्यम र निम्नस्तरीय एमाओवादी कार्यकर्ताको मात्र मञ्चमा भीड थियो । कांगेस, एमाले, नेकपा माओवादीलगायतका दलहरु तथा दलितहरु नै कार्यक्रममा उपस्थित थिएनन् ।