फ्रान्सेली राष्ट्रपति साउदी अरेबियामा
कपन अनलाइन
रियाद, २४ कात्तिक । साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंले बिहीबार अबेर तिर साउदी राजकुमारसँग भेटवार्ता गरेका छन । उनि अचानक साउदी अरेबियाको भ्रमणका लागि रियाद पुगेका छन। बिहीबार अपरान्ह् यहाँ आइपुगेका उनले साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताका विषयमा बढी कुराकानी गरेका बताइएको छ ।
पछिल्लो समयमा लेबनान र अरु कूटनीतिक विषयलाई लिएर साउदी अरेबिया र इरानका बीचमा सम्बन्ध चिसिएको छ । यस्तो बेलामा फ्रान्सेली राष्ट्रपतिले गरेका साउदी अरेबियाको अकस्मात भ्रमणलाई महत्वका साथ हेरिएको छ । लेबनानसँग फ्रान्सको राम्रो सम्बन्ध रही आएको बताइन्छ । साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान पनि बीचमा आएको बताइएको छ ।
केही दिनमात्र अघि साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न सूचना जारी गरेको थियो । त्यसपछि फ्रान्सेली राष्ट्रपतिको साउदी अरेबियाको भ्रमण तय भएको थियो । पछिल्लो तनावका बीच साउदी विदेशमन्त्रालयले आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न पनि भनेको बताइएको छ ।
फ्रान्सेली राष्ट्रपतिले साउदी अरेबियाको भ्रमण गरिरहँदा यता साउदी अरेबियाले भने आफ्नो देशमा भ्रष्टाचारविरोधी अभियान सुरु गरेको छ ।
यस क्रममा उसले सयौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गर्ने भन्दै नियन्त्रणमा पनि लिइरहेको छ । विश्लेषकहरुका अनुसार साउदी अरेबियाका राजकुमार यतिखेर शक्तिशाली शासक भएका छन् ।