‘रोमियो, मेला, तान्द्रो र सकस’ रिलिज

‘रोमियो, मेला, तान्द्रो र सकस’ रिलिज
कपन अनलाइन 
काठमाडौं, २४ कार्तिक । शुक्रबारदेखि चार नेपाली फिल्म रिलिज भएका छन्। बसन्त निरौला निर्देशित ‘मेला’, साम्तेन भुटियाको ‘तान्द्रो’, शंकर कार्की निर्देशित ‘रोमियो’ र एनवी महर्जनको  ‘सकस’ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन्। संभवतः यस वर्षको यो सबैभन्दा ठूलो भिडन्त हो । ‘तान्द्रो’ बाहेक अन्य तीन फिल्म सिंगल हल लक्षित फिल्म हुन् ।
हरि पन्तको लेखन रहेको फिल्म ‘मेला’का उनी आफै सह–निर्देशक तथा प्रस्तुतकर्ता हुन्।राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ मा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
फिल्म मा अष्ट महर्जनको द्धन्द्ध र हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ । यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । ‘मेला’ नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदैछ । फिल्मको भारत प्रदर्शनको जिम्मा भोजपुरी स्टार परदेशी शाहले लिएका छन् ।
हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका रहेको फिल्म ‘रोमियो’ले त्रिकोणात्मक प्रेम कथालार्इ उठान गरेको छ। फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको ‘रोमियो’ एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको हो । फिल्मका सह–निर्माता बिष्णु कार्की हुन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् ।
दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ । राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो फिल्ममा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको कथा मौनत श्रेष्ठको हो ।
प्रेम र एक्सन पस्किएका यी तीन फिल्मसँग ‘तान्द्रो’ले तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई पर्दामा देखाउन खोजेको छ । फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ । वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो ।
उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कमरेड कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् । यो फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ ।
तपाइँको प्रतिक्रिया ।