उपत्यकामा एमाले र माओवादीको भागवण्डा टुंगियो,काठमाडौं ६,८ र १० माओवादीलाई

कपन अनलाइन 

काठमाडौ,कार्तिक ९ ।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले दोस्रो चरणमा चुनाव हुने अधिकांश निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ । टुंगिन बाँकी रहेका जिल्ला र क्षेत्रलाई विवादित मानेर शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिमा पठाइएको छ ।

कार्यदलका एक सदस्यका अनुसार उपत्यकाका प्रतिनिधिसभातर्फ १५ सिटमध्ये माओवादीले ४ सिट पाउने भएको छ । प्रदेशतर्फ ३० मध्ये ७ सिट पाउने गरि कार्यदलले टुंगो लगाएको छ । कुल मिलाएर उपत्यकाभित्र ४५ सिटमध्ये एमालेले ३४ र माओवादीले ११ सिट पाएका छन् ।

काठमाडौंमा माओवादीले क्षेत्र नम्बर ६, ८ र १० पाउने भएको छ । त्यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर ३, ६ र १० मा दुई मध्ये एकएक सिट माओवादीले लिने सहमति भएको छ ।

काठमाडौंका अन्य ७ प्रतिनिधिसभा र १७ प्रदेशसभाका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादीले समर्थन गर्नेछ । भक्तपुरमा माओवादीले प्रदेशसभामा एक सिट पाउनेछ भने अन्य दुवै प्रतिनिधिसभा र ३ प्रदेशसभाका सिटमा एमालेलाई सघाउनेछ ।

ललितपुरको क्षेत्र नम्बर ३ माओवादीले पाउने भएको छ । प्रदेशसभातर्फ माओवादीले ललितपुरमा तीनै क्षेत्रबाट एकएक सिट पाउनेछ । एमालेले क्षेत्र नम्बर १ र २ प्रतिनिधिसभामा पाउनेछ भने प्रदेशमा तीनै क्षेत्रका एक एक सिट पाउने सहमति भएको छ ।

तपाइँको प्रतिक्रिया ।