कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम

कृषि उत्पादन वृद्धि गरी स्वरोजगार प्रदान गर्नुपर्छ : मन्त्री गौतम

कपन अनलाइन 

चितवन, ३ असोज । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषि उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भरसँगै स्वरोजगार प्रदान गर्नुपर्ने बताएका छन । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै मन्त्री गौतमले नीतिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर हुननसकेको बताए। उनले कृषि प्रणालीमा नीतिगत रुपमा सुधार नगरेसम्म सोचेअनुरुपको प्रगति गर्न नसकिने धारणा व्यक्त गरे ।

मन्त्री गौतमले कृषिमा आत्मनिर्भर बनाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्ने बताए। कृषिलाई आधुनिकिकरण गर्न नसक्दा लाखौं युवा विदेश जान बाध्य भएको उनको भनाइ थियो । “हामी अझै पनि परम्परागत कृषि प्रणालीमा आधारित छौंँ,” मन्त्री गौतमले भने – “आत्मनिर्भर बन्न आधुनिक कृषि प्रणालीमा जानुको विकल्प छैन् ।” देशमा कृषि उत्पादनलाई वृद्धि गरेर रोजगारको अवसर सिर्जना गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको गौतमले बताए ।

स्थानीय तहका संरचना निर्माण र कर्मचारी व्यवस्थापन नभएसम्म तीव्र विकास गर्न नसकिने भन्दै उनले राष्ट्रिय गौरवका सिँचाइ योजनालाई विशेष प्रथामिकतामा राखेर सरकारले काम गरिरहेको बताए । रु ५० लाखसम्मको बजेट स्थानीय तहमा गएपछि कतिपय कार्यालयमा दुई महिनायता काम नभएको भन्दै उहाँले छिट्टै यसलाई टुङग्याउन आफू लागिपरेको बताए ।

संघीयता कार्यान्वयन गर्दैगर्दा कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै उहाँले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।