अमृत प्रधान स्मृति कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने
कपन अनलाइन
काठमाडौँ, भाद्र २३ ।
अमृत प्रधान स्मृति कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । अमृत साइन्स क्याम्पसका संस्थापक प्राचार्य अमृतप्रसाद प्रधानको स्मृतिमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइद्वारा आयोजना गर्न लागिएको यस प्रतियोगितामा उपत्यकाका विभिन्न्न १७ वटा क्याम्पसहरुले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा इकाइका सचिव समिरराज विष्टले जानकारी दिए ।
सानो गौचरनस्थित फुटबल मैदानमा शनिबार बिहानदेखि सुरु हुने प्रतियोगितामा हिमालयन कलेज, अमृत ए र बी, रत्नराज्य, केन्द्रीय क्याम्पस, नेपाल इन्जिनिरयरिङ, पाटन संयुक्त, त्रिचन्द्र, सगरमाथा, एनसिआइटी, नोबल, ताहाचल, पब्लिक युथलगायत १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्नेछन् ।
असोज १ गते विज्ञान दिवस तथा क्याम्पस स्थापना दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल खेल खेलाइने कार्यक्रम संयोजक सुलभ तामाङले जानकारी दिएका छन् । प्रतियोगिताका विजेताले रु एक लाख एघार हजार १११, ट्रफी र द्वतीय हुनेले रु ५५ हजार ५५५ तथा ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका लागि रु आठ लाख खर्च हुने बताइएको छ ।
छ वर्षसम्म त्रिचन्द्र कलेजमा अध्यापन गराइसकेपछि छुट्टै विज्ञान कलेजको आवश्यकताको महसुस गरी २०१३ साल असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर प्रधानले पव्लिक साइन्स कलेजको स्थापना गर्नुभएको थियो । उनको स्मृतिमा अनेरास्ववियु अस्कल कमिटीले यस अघि पनि विभिन्न प्रतियोगिता गरिसकेको छ ।