उत्तर कोरियालाई दक्षिण कोरियाको आग्रह
कपन अनलाइन
सोल, ६ साउन । दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन । उक्त जवाफ नपठाएकोले दक्षिणले आज सो आग्रह गरेको हो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गएको सोमबार वार्ताको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान च्युनलले भन्नुभयो– कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्नुपर्ने र शान्तिको लागि पहल थाल्नुपर्ने अत्यावश्यक भएकोले हामीले सो वार्ताको प्रस्ताव पठाएका हौँ ।
उहाँले सोलमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार उत्तर कोरियाले आफ्नो प्रस्तावको बारेमा बिचार गरेर जवाफ पठाओस भन्ने हाम्रो आग्रह हो र जसले गर्दा अहिलेको अवस्थामा शान्तिवार्ता अत्यावश्यक रहेको कुरा पनि पुष्टि गर्नेछ भन्नुभयो ।
प्रवक्ता च्युनले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा शुक्रबार अर्थात आज नै वार्ता गर्नेगरी दक्षिण कोरियाले प्रस्ताव राखेको जानकारी पनि सो अवसरमा दिनुभयो ।
उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि पनि सोही बैठकमा छलफल गर्न र उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको शृंखलाका बारेमा पनि छलफल गर्न सो वार्ताको प्रस्ताव गरिएको उहाँको भनाई थियो ।
उत्तर कोरियासँग रेड क्रसले उत्तर र दक्षिण कोरियाका परिवारका कोरियाली युद्धताका छुट्टिन पुगेका परिवारका सदस्यहरुको पुनर्मिलनका लागि पनि प्रस्ताव गरेको थियो । सो विषयमा दक्षिणले पनि आफ्नो प्रस्तावमा समेटेको थियो ।
रेड क्रसले पनि सो वार्ताका लागि पहल गर्न भनेपछि दक्षिण कोरियाले पहल थालेको थियो । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने पनि प्रवक्ता च्युनले बताउनुभयो ।
प्रवक्ता च्युनले सो नियमित पत्रकार सम्मेलनमा भन्नुभयो– कोरियाली प्रायद्वीप उक्त क्षेत्रमा कुनै सैनिक क्रियाकलाप नगर्न र वार्ताको बारेमा सहमति गर्न औपचारिकरुपमा नै प्रस्ताव पठाएका थियौँ, तर त्यसको जवाफ नआएकोले सो वार्ताको बारेमा केही भन्नसक्ने स्थिति छैन ।
यो प्रस्ताव विशेषत दुवै तर्फका नागरिकको पुनर्मिलनका लागि गरिएको थियो । सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार दक्षिणबाट यो प्रस्ताव आएको हो ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलले पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि सो वार्ताको प्रस्ताव गरिएको यसअघि बताउनुभएको थियो ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार मात्र जारी विज्ञप्तिमा उहाँको सो भनाई आएको थियो । उहाँले पनि उत्तरले शान्ति वार्ताको प्रस्तावमा जवाफ पठाउन ढिलाई गरेर गल्ती गरेको बताउनुभएको थियो ।
सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच आपसी औपचारिक वार्ता भएको छैन । त्यसैगरी यी दुवै देशका तर्फबाट परिवारहरूको पुनर्मिलन पनि त्यसयता भएको छैन ।
कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् । रासस÷एएफपी