मेसीको सम्झौता आउँदो साता नविकरण, साताको ६ करोड ७० लाख रूपैयाँ पारिश्रमिक
कपन अनलाइन
स्पेनिस क्लब बार्सिलोनाले विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको आउँदो साता कीर्तिमानी पारिश्रमिक रकममा सम्झौता नवीकरण गर्ने भएको छ। उनलाई साताकै मात्र करिब ६ करोड ७० लाख रुपैयाँ पारिश्रमिक पाउने गरि क्लबले आउँदो बुधबार सम्झौता पत्रमा हस्ताक्षर गर्न लागेको स्पेनिस तथा बेलायती मिडियाहरुले जानकारी दिएका छन्।
यसै साता वैवाहिक–बन्धनमा बाँधिएका मेसी हाल हनिमुनका लागि क्यारेबियाको भ्रमणमा छन्। उनी अघिल्लो सिजनको तयारीका लागि क्याम्प नोउ फर्किने वित्तिकै सम्झौता पत्रका हस्ताक्षर हुने बताइएको छ।
स्पेनिस पत्रिका काडेना कोपका अनुसार ३० वर्षीय मेसीको सम्झौता अवधि २०२१ सम्म रहनेछ। उनी यसपछि पनि थप एक वर्षका लागि क्लबमा आवद्ध हुनु पर्ने सर्त राखिएको छ। यसको अर्थ मेसी ३४ वर्षसम्म बार्सिलोनामै रहनेछन्।
यसअघि मेसीको सम्झौता २०१८ सम्म मात्र थियो। इङ्लिस क्लबहरुले मेसीलाई भित्र्याउन अर्बो रुपैयाँ खर्चिने तयारी गरेका थिए। यसलाई रोक्न क्लबले करिब ३५ अर्ब ३० करोड रुपैयाँको नयाँ ‘रिलिज क्लज’ राखेको छ।
१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध मेसी क्लबको एकेडेमी ‘ला मेसिया’ को अहिलेसम्मकै चर्चित तथा उत्कृष्ट उत्पादन हुन्। उनी बार्सिलोना र अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन्।पाँच पल्ट विश्व उत्कृष्ट खेलाडी घोषित मेसी गत वर्ष स्पेनी कर आयोगबाट आफूविरुद्ध कर छलीको मुद्धा दायर भएपछि निरास थिए।