अपहरणपछि हत्या गरिएका पूर्व प्रहरी हवल्दार को ७ वर्षपछि अन्तिम संस्कार
सप्तरी, फागुन ३– अज्ञात समूहद्वारा अपहरणपछि हत्या गरिएका पूर्व प्रहरी हवल्दार राजकुमार तामाङका परिवारजनले ७ वर्षपछि उनको अन्तिम संस्कार गर्ने भएका छन् ।
विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कमलेश यादवको बयानको आधारमा सप्तरी प्रहरीले तामाङको हत्या भएको लेखेर पत्र दिने भएपछि हत्या भएको ७ वर्षपछि परिवारजनले अन्तिम संस्कार गर्ने भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले पक्राउ परेका यादवले आफूहरुले पूर्व प्रहरी हवल्दारको अपहरण गरी हत्या गरेर कोसी ब्यारेजमा फ्यालेको बयान दिएको जानकारी दिए । तामाङको क्रियाकर्म गर्न सजिलो होस् भन्नेर बयानको फोटोकपी परिवारलाई उपलब्ध गराउने उनले बताए ।
भारतीय सीमावर्ती बजार कुनौलीमा औषधि खरिद गर्न गएका बेला गत २०६३ साल मङ्सिर ८ गते अज्ञात समूहले तामाङलाई अपहरण गरेर बेपत्ता पारेका थिए । बेपत्ता पारेको केही दिनमै तामाङको हत्या गरिएको सूचना सार्वजनिक भएपनि कुनै ठोस प्रमाण नभेटिएपछि परिवारजनले तामाङको क्रियाकर्म नगरी निजको खोजी गर्न प्रधानमन्त्रीदेखि मन्त्रीहरु कहाँ धाउँदै आएका थिए ।