शिक्षण पेसासँगै अर्गानिक कृषि व्यवसाय
कपन अनलाइन
दाङ, २० जेठ । शिक्षण पेसामा आवद्ध एक जना शिक्षकले दाङमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गर्नुभएको छ । तुलसीपुरको हिमाल एकडेमिका प्रिन्सिपल मधुसुदन केसीले शिक्षण पेसासँगै तुलसीपुरमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गर्नुभएको हो । जिल्लामा पछिल्लो समयमा अर्गानिक खेती हुन छाडेको भन्दै आफू अर्गानिक पंक्षीपालनतिर लागेको उहाँ बताउनुहुन्छ ।
केसीले आफ्नै घरमा पाँच सय ५० वटा स्थानीय जातका कुखुरा र पाँच सयवटा हाँस पालेर यो व्यवसाय सुरु गर्नुभएको हो । यसरी अर्गानिक तरिकाले उत्पादन गरेका मासु र अन्डा स्वादिलो र स्वास्थ्यका लागि पनि फाइदाजनक हुने उहाँको भनाइ छ ।
प्रति कुखुराको अन्डाको मूल्य रु १४ र बट्टैको अन्डाको मूल्य रु सात रहेका छन् । यसैगरी कुखुराको मासु प्रति केजी रु.४५० र प्रति जोडी बट्टै रु तीन सयमा बिक्री गर्ने गरेको शिक्षक केसीको भनाई छ ।
‘केसीले घरमा नै स्थानीय जातको कुखुराका चल्ला उत्पादन गरी बजारमा लैजाने गर्छन् । उहाँले उत्पादन गरेका कुखुराको चल्ला पोखरा, वुटवललगायतका सहरमा निर्यात हुने गरेका छन् ।
“अर्गानिक कुखुराको चल्ला र बट्टैको माग बढदोछ, जिल्लामा भन्दा पनि बाहिरी सहरमा यसको माग बढी छ जिल्लामा आफँै यसको महत्व बुझाउन सकिएको छैन्” –केसीले भन्नुभयो ।
कुखुरा र बट्टैका लागि आफँैले अर्गानिक दाना उत्पादन गर्ने गरेको उहाँ भन्नुहुन्छ – “मैले यहिकै स्थानीय वस्तुको सदुपयोग गरी दाना उत्पादन गर्ने गरेको छु, सबै चिज अर्गानिक गराउने मेरो लक्ष्य हो ।” रासस