पत्रकार एवम् साहित्यकार केवलको निधन
कपन अनलाइन
काठमाडौँ, १३ जेठ । पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।दार्जिलिङ र सिक्किममा आयोजना हुने साहित्य सम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढल्नुभएका उहाँलाई उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो र चिकित्सकले तत्क्षण उहाँको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली, अवधि र हिन्दी भाषामा साहित्य रचना गर्नुहुने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रुपमा काम गर्नुभएको थियो । पछिल्लो समयमा पनि उहाँ नेपाली जनसरोकार मासिकको सम्पादक हुनुहुन्थ्यो । साथै अवधि भाषाको ‘बटोही’ द्वैमासिकमा पनि उहाँ कार्यरत हुनुहुन्थ्यो ।
केवलका आधा दर्जन कृति प्रकाशित छन् । पछिल्लो पटक उहाँको गुरुङको उद्भव र संस्कृति सम्बन्धी पुस्तक प्रकाशनमा आएको थियो ।
केवलका बुबासहित दाजुभाइ चितवनबाट बसाइँसराइ गरी जाने क्रममा अन्तै पुग्नुभयो । उहाँका बुबामात्र तनहुँ पुग्नुभयो र त्यहाँ तिवारीको सट्टा केवल लेख्न थाल्नुभयो । साहित्यकार मेदिनीले पनि पितालाई पछ्याउँदै केवल नै लेख्न थाल्नुभएको हो ।
तनहुँको रुपाकोट पुख्र्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोवास गर्नुहुन्थ्यो । पत्रकार केवलका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ । रासस