समुदायको सहभागितामा काष्ठमण्डप पुनःनिर्माण सम्झौता

कपन अनलाइन 

काठमाडौँ, २९ वैशाख । काठमाडौँ उपत्यकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने भएको छ ।

काष्ठमण्डप पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका(कामपा)ले सहयोग गर्ने सम्झौता भएको छ । समुदायका तर्फबाट काष्ठमण्डप पुनःनिर्माण अभियानले काठमाडौँको नामकरण भएको ऐतिहासिकस्थलको पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्नेछ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा प्राधिकरण, विभाग, कामपा र अभियानका बीचमा दुई वर्षमा निर्माण गरिने १५ बुँदे महत्वाकाङ्क्षी सम्झौता गरिएको हो ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव यामलाल भुसाल, विभागका महानिर्देशक भेषनारायण दाहाल, कामपाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा उपस्थित उद्योगमन्त्री नवीन्द्रराज जोशीले टिम्बर कर्पोरेसनबाट सबैभन्दा राम्रो काठ आपूर्ति गर्न मन्त्रिपरिषद्मै निर्णय भइसकेको जानकारी दिनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले काष्ठमण्डप सार्वजनिक तथा निजी साझेदारी अवधारणानुसार पुनःनिर्माण हुन लागेकाले अन्यत्र पनि यस्तै गर्न सके पुनःनिर्माणले तीव्रता पाउने बताउनुभयो । “काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवम् संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर, पारदर्शी रुपमा निर्माण कार्यलाई नमुना बनाउने अभियानमा लाग्नुपर्छ, दुई वर्षमा काण्ठमण्डप पुनःनिर्माणको अभियानले पूर्णता पाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कामपाका प्रमुख कार्यकारी अधिकृत पौडेलले काष्ठमण्डप पुनःनिर्माणका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीको गुणस्तर विभागले हेर्नुपर्नेमा जोड दिनुभयो । काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानले मूल जिम्मेवारी लिनेछ । समझदारीमा लेखिएको विषयमा त्यसैअनुसार र नलेखिएका विषयमा अभियानले प्राधिकरणसँग प्रक्रिया पूरा गरेर काम गर्नुपर्ने उल्लेख छ ।

समझदारीपत्र कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा चारै पक्षबीच आपसी समझदारीका आधारमा विवादको समाधान गरिने तर समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट गरिने निर्णय अन्तिम हुने सम्झौतामा उल्लेख छ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ ले प्राधिकरणलाई दिएको अधिकार प्रयोग गर्नबाट यो समझदारीले बाधा नपार्ने प्राधिकरणले जनाएको छ ।

काष्ठमण्डप पुनःनिर्माण गर्दा विभागले प्राचीन स्मारक संरक्षण ऐन
(संशोधन सहित) २०१३ र नियमावली २०४६, भूकम्पपश्चात् सम्पदा पुनःनिर्माण गर्नेसम्बन्धी कार्य निर्देशिका २०७२ र प्रचलित मापदण्डबमोजिम पुनःनिर्माण गराउनुपर्नेछ । विभागले मापदण्डबमोजिम भए नभएको अनुगमन तथा निरीक्षण गरी अभियानलाई आवश्यक निर्देशन दिन सक्ने व्यस्था गरिएको छ ।

काष्ठमण्डप पुनःनिर्माणका क्रममा सम्बन्धित क्षेत्रबाट संसद्मा प्रतिनिधित्व गरेका सांसद तथा स्थानीय तह र समुदायका प्रतिनिधिको रायसुझाव लिई प्राविधिकको सिफारिसअनुसार पुनःनिर्माण गरिने प्रवक्ता भुसालले बताउनुभयो । पुनःनिर्माण अभियानले पुनःनिर्माणमा भएको अद्यावधिक प्रगति विवरण प्रत्येक तीन महिनामा चार वटै प्रतिनिधिको बैठक बोलाई जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

विश्व सम्पदा सूचीमा समावेश भएको विशिष्ट प्रकृतिको सम्पदा भएको हुँदा प्रत्येक नेपालीलाई काष्ठमण्डप पुनःनिर्माण अभियानमा सहयोग गर्ने अवसर प्रदान गरिने अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बताउनुभयो । “नेपालको राष्ट्रिय गौरवको सम्पदा नेपालीकै सहयोगमा पुनःनिर्माण गर्ने अभियान सञ्चालन गर्ने दायित्व हामी सबैको हो”, उहाँले भन्नुभयो । अब सरकार र सम्बन्धित निकायले प्रदान गर्ने सहयोग अभियानमार्फत उपलब्ध गराउनुपर्नेछ ।

अभियानले सङ्कलन गरेको वा प्राप्त गरेको रकम कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिने समझदारी भएको छ । चन्दादाताको पहिचानसहितको विवरण प्राधिकरणलाई जानकारी गराई पारदर्शी रूपमा व्यवस्थापन गर्ने दायित्व पनि अभियानको हुनेछ ।

चारै पक्षको सहमतिबाट निर्माणसम्बन्धी कार्यविधि बनाई प्राप्त बजेट खर्च गर्नुपर्नेछ । कामपाले काष्ठमण्डप पुनःनिर्माणमा लाग्ने काठलगायत जिन्सी सामग्री उपलब्ध गराउनु पर्नेछ । अभियानले त्यस्ता जिन्सी सामानको गुणस्तर प्राविधिकबाट निर्धारण गरी कामपालाई जानकारी गराउनु पर्नेछ । समझदारीपत्र आजैदेखि लागू भई काष्ठमण्डप पुनःनिर्माण नभएसम्म कायम हुनेछ ।

भूकम्पपछि विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को पहलमा काष्ठमण्डपमा भएको उत्खननले सातौँ शताब्दीमै यो ऐतिहासिकस्थल बनेको तथ्य फेला परेको छ । यसअघि काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको ‘नाम सङ्गीति ग्रन्थ’मा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिनुभयो ।

बाह्राँै शताब्दीमा बनेको तथ्य फेला पर्नुअघि १७ औँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लको पालामा बिसेत नाम गरेका मानिसले एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको कुरा विभिन्न कृतिमा उल्लेख छ । रासस

तपाइँको प्रतिक्रिया ।