स्थानीय निर्वाचनको संघारमा राजु श्रेष्ठलाई नेका कार्यकर्ताले लेखेको मार्मिक पत्र
कपन अनलाइन, काठमाडौँ/ दृष्टिकोण
राजु दाइ, जयनेपाल ! नमस्कार !
आरामै हुनुहुन्छ होला । स्थानीय चुनावको माहौलमा तपाईलाई हामीले सोचेजति सक्रिय देख्न पाएका छैनौँ । आन्तरिक रणनीतिका लागि व्यस्त हुनुहुन्छ होला भन्ने आशा छ नत्र तपाइँजस्तो मानिस चुप नै लागेर वा नतमस्तक भएर बस्न हुन्न भन्ने कुरामा म निश्चिन्त छु ।
दाइ, चुनाव लागेको छ । सबैजना छटपटाएका छन् । हतास भएका थुप्रै अनुहारहरु पनि देख्छु म । सबै पार्टीमा आन्तरिक तनाव छ । नेतैनेता छन्, सबै तँछाड मछाड गर्दैछन् । तर आफ्नै पार्टीतिर हेर्छु यो चुनावमा दाइ उठ्नु भयो भने कसैले दाइलाई बिरोध गर्ने अबस्था छैन । तपाइँ सबैको प्रिय हुनहुन्छ । कस्तो राम्रो माहोल छ राजु दाइको बुनपामा । यो मौकालाई खेर फाल्नु हुन्न है । तपाइँ उठ्नलाई मात्र सर्वमान्य हैन दाइ तपाइँ जित्नका लागि पनि सर्वमान्य हुन सक्ने अवस्था हो यो ।
कपन अनलाइनले निकै अगाडिदेखि तपाई मेयर हुनुपर्ने कुरामा जोड दिएर लेख्दै आएको छ । कपन अनलाइनमा यसरी दाइको पक्षमा लेखिएका कुरा देख्दा आफ्नो क्षेत्रीय अध्यक्षप्रति नतमस्तक हुन मनलाग्दो रेछ दाइ । यो कुरा सबैको भाग्यमा कहाँ हुन्छ र । दाइ, तपाइँलाई बधाई दिन आतुर छु म त ।
अघिल्लो हप्ता कपन अनलाइनमा दाइको हातमा डाडपन्यू छ भनेर छापियो । दाइले चाहेको मानिस बुनपामा उम्मेदवार हुन पाउने कुरा आफैमा महत्वपूर्ण थियो । सर्सती हेर्दा बुनपामा नेपाली कांग्रेसलाई बलियो मानिन्छ । पछिल्ला दुइवटा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ र ५ भित्र पर्ने यो बुनपामा नेकाले उल्लेखनीय भोट पाएको थियो । ०७० सालको निर्वाचनमा त झन् क्षेत्र नं. ४ मा पर्ने ८ वटा वडाबाट सांसद गगन थापाले अकल्पनीय भोट प्राप्त गरेका थिए । कांग्रेसको संगठन र जनाधार बलियो भएको बुनपामा आगामी स्थानीय निकाय चुनावमा नेकाले कस्तो नतिजा हासिल गर्ला भन्ने कुरा प्रति धेरैलाई चासो रहेको छ । यो भोटको संख्या र नतिजा साँच्चै भन्ने हो भने राजु दाइको हात छ जस्तो लाग्छ मलाई ।
क्षेत्रीय सभापति भएपछि दाइलाई सम्भवतः सबैभन्दा सकसको अवस्था होला यो । यतिखेर बुनपामा जीत आत्मसात गर्न सकिएला वा नसकिएला भन्ने विषयमा दाइलाई तनाव हुन हुन जरुरी पनि छ । तर दाइ, क्षेत्रीय अधिवेशनदेखि आन्तरिकरुपमा देखिएको चरम गुटबन्दी नेका क्षेत्र नं. ४ अझै जस्ताको त्यस्तै छ हैन र ? उपसभापति, मनोनित सचिवलगायतका पद अझै रिक्त रहेको छ । दाइ र मन्त्रीसमेत रहेका नेका केन्द्रिय सदस्य गगन थापाबीचको सम्बन्ध सुमधुर मानिदैन । बिना गगन थापाको सक्रियता बुनपामा यो स्थानीय चुनाव प्रचारप्रसार कसरी प्रभावकारी होला भन्ने चिन्ता लाग्छ मलाई ।
दाइ, भन्दा छुच्चो भएको झैँ हुन्छ तर यो एकवर्षमा नेका क्षेत्र नं. ४ ले कहिल्यै गगन थापालाई स्पेस दिन चाहेन । यतिसम्म कि सांसद तथा देशकै सबैले आशा गरेका नेताको हैसियतले गगन दाइले गरेका विकास निर्माणसम्बन्धी कामको जस बरु विपक्ष एमाले र माओवादी केन्द्रले दियो तर आफ्नै पार्टीको क्षेत्रीय कमिटिले दिएन । सामाजिक संजालमै चिनिएको व्यक्तिहरु आफ्नै पार्टीका सांसदको बिरोधमा उत्रिए । देशभर यतिखेर गगन थापाले स्वास्थ्य मन्त्री भएर राम्रो काम गरे भनेर चर्चा रहेको छ तर दाइ, न तपाइँले कहिल्यै राम्रो भन्नु भयो न तपाइँका साथीहरुले ।
राजु दाइ, तपाइँका लागि यो स्थानीय निकाय चुनाव नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छो बाउको अनुहार भने झैँ होला कि भन्ने चिन्ता छ मलाई । तपाइँलाई यस नगरपालिकामा जीतले मात्र राहत हुन्छ हारियो भने सम्भवतः तपाइँको राजनीति उत्तरार्धतिर लाग्न सक्छ । दाइ वा दाइले बोकेको गगन थापा बिरोधी टिमले मात्र चुनावी रथ हाँक्ने सक्ने कुरा सजिलो छैन जस्तो लाग्छ मलाई । रुख चिन्ह वा चारतारा झण्डाको आधारमा यो चुनाव जितिन्छ भन्ने सोचाई राख्नु भएको छ हजुरहरुले तर यो संभव नहोला कि दाइ ।
कपन अनलाइनले लगातार कलम चलाउँदै आएझैँ मेयर पदको उम्मेदवारका रुपमा राजु दाइको साँच्चै विकल्प छैन । विपक्षीहरु तपाइँसँग मात्र डराउँछन् । विपक्षी एमालेलाई पछार्न दाइबाहेक अरु कुनै उम्मेदवार सामथ्र्य राख्न सक्दैनन ।
दाइले सम्भावित मेयरका लागि गोकर्ण दाइको भनेर लबिङ गर्दै हिँडेको आरोप लाग्ने गरेको छ । म गोकर्ण दाइको बिरोधी हैन तर गोकर्ण दाइले सम्भवतः उम्मेदवार बन्न आकांक्षा राख्नेहरुको सूचिमा सबैभन्दा कम मत ल्याउने छन् । गोकर्ण दाइमात्र हैन न्हुच्छे दाइलगायतका व्यक्तिहरु पनि सम्भावित जीतका नायक हुन सक्नेकुरामा नेकाका कार्यकर्ता पटक्कै विश्वस्त छैनन् । विपक्षहरु कमजोर उम्मेदवार हुने भएकाले नेपाली कांग्रेसले गोकर्ण केसीलाई टिकट दियो भने राम्रो हुन्छ भन्ने लबिङमा लागि सकेका छन् । यो अबस्थामा दाइलाई उम्मेदवार छनौट गरेर क्षेत्र तथा जिल्ला कमिटिमा लैजान साँच्चै फलामको च्यूरा चपाएझैँ हुने कुारमा दुईमत छैन ।
नेकाले बनाएको उम्मेदवार छनौटको मापदण्डले पनि दाइलाई सकस बनाएको होला । यो मापदण्ड आउनु पूर्व नै दाइले क्षेत्रीय पदाधिकारी पूर्णता दिन नसक्नु र क्षेत्रको दुइधारलाई मेट्न नसक्नुले सायद दाइलाई मेयर उपमेयर मात्र हैन वडाध्यक्ष उम्मेदवार तय गर्नसमेत गारो भएको हुनसक्छ । दाइले लैजाने नाममा सहमति हुने अबस्था कमजोर छ । क्षेत्रमा टिकट वितरण गर्ने कमिटिमा दाइ सम्भवतः अल्पमतमा हुनुहुनेछ । यसको एकमात्र कारण दाइले क्ष्ोत्रीय पदाधिकारी चयन गर्न नसक्नु र क्षेत्रलाई एक बनाएर लान नसक्नु नै हो । हाल बनेका बुनपाका १३ वटा इकाइमध्येबाट पनि अधिकांशमा दाइले चाहेका मान्छेले सिफारिस नपाउने अबस्था बनेको छ ।
आफ्नो राजनीतिक जीवनमा संभवतः राजु दाइले कठिन २ साता बिताउनु हुनेछ अब । आउँदो दुुइ सातामा उम्मेदवारको छनौट हुनु पर्ने अबस्था छ । यो अबस्थामा राजु दाइले कति बुद्धिमत्तापूर्ण निर्णय गर्नुहोला हामी सबैको चासो हो । चारैतिरबाट राजु दाइ स्वयम् मेयर पदमा उठ्नुको विकल्प नरहेको भन्ने आवाज उठिरहेको मात्र हैन बस्तुस्थिति पनि त्यस्तै बन्दै गएको छ । यो महत्वपूर्ण घडिमा दाइले भ्रमपूर्ण महत्वाकांक्षा पालेर प्रदेश वा क्षेत्रीय सांसदको सपनाको आधारमा मेयर बन्न रुचाउनु भएन र कोही अमुक पात्रका नाममा सती जानु भयो भने आगामी डेढ दशकलाई बुनपामा नेका कमजोर बन्ने संघारमा पुग्नेछ ।
आगे दाइको मर्जी ।
तपाईकी हरकदमकी सभेच्छुक तथा नेका कार्यकर्ता
-भावना खड्का
बुनपा ११