देश दू्रत आर्थिक विकास र आधनुनीकरणको बाटोमा अगाडि बढेको छः उपाध्यक्ष श्रेष्ठ
कपन अनलाइन
काठमाडौं, १८ चैत । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले देश द्रुत आर्थिक विकास र आधनुनीकरणको बाटोमा अगाडि बढेको बताएका छन् ।
एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोगको आयोजनामा मार्च २९ देखि थाइल्याण्डको राजधानी बैंककमा सुरुभएकोे दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ को तेस्रो दिन शुक्रबार मुख्य वक्ताको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष डा. श्रेष्ठले नयाँ संविधान जारी भएसँगै देश आर्थिक तथा सामाजिक विकासमा द्रुतरुपमा अगाडि बढेको बताएका हुन् ।
उनले संघीय संविधानको निर्माणसँग सँगै राष्ट्रिय योजना आयोगले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता राखेर नीति नियमहरु तर्जुमा गरेको बताए । ‘गतवर्ष नेपालको संविधान जारी भएसँगै देशमा आर्थिक विकास र आधनुनीकरणले गति लिएको छ,’ उनले भने, ‘राष्ट्रिय योजना आयोगले पनि आफ्ना कार्यक्रमहरु सोही अनुरुप प्राथमिकीकरण गरेको छ, १४औं योजनामा तीनवटा अन्तरराष्ट्रिय एजेण्डाहरु जस्तै दिगो विकासका लक्ष्यहरु, वातावरणसम्बन्धी पेरिस सम्झौता र शहरी विकासलाई समावेश गरेका छौं,’ उनले भने ।
उपाध्यक्ष श्रेष्ठले सहश्राब्दी विकास लक्ष्यमा आंशिक सफलता पछि दिगो विकाससम्बन्धी लक्ष्यहरुको प्रभावकारी कार्यान्वयन तथा सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्तिको लागि नेपाल प्रयत्नरत रहेको बताए ।
उनले दिगो विकास लक्ष्य कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन हालै नेपाल सरकारले प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति तथा योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यान्वयन तथा समन्वय समिति गठन गरेको बताए । उनले प्राकृतिक प्रकोपले आर्थिक, सामाजिक तथा वातावरणीय क्षति हुने बताउँदै त्यस्ता प्रकोपबाट गरिब तथा विपन्न वर्ग बढी पिडित हुने बताए ।