बुनपा माओवादी केन्द्रमा रविन राज शुरु

कपन अनलाइन, काठमाडौँ । बुनपामा माओवादी केन्द्र भनेको नै रविन अधिकारी भैसेको धेरै भयो । नेताहरु कम भएर रविन अधिकारी माओवादी केन्द्र पार्टीको पर्यायवाची भएका हैनन् । बुनपा र क्षेत्र नं. ४ मा २ दर्जनभन्दा धेरै चिनिएकै माओवादी केन्द्रका नेताहरु बसोबास गर्छन् । तर जनाधार कृयाशिलताको अभावले उनीहरु आफैबीच आफु हराएझै भएको अवस्थामा रविन अधिकारी अँधेरोमा दीपकझैँ माओवादी प्रवेश गरे । रविन के माओवादीमा प्रवेश गरे बुनपामा वातावरण नै अर्काे भयो ।

 
विलक्षण प्रतिभा भएका मानिस हैनन् रविन अधिकारी तर माओवादी केन्द्रमा उनको उपस्थिति विलक्षण कै भएको छ । उनी एक कुशल संगठकको रुपमा अवतिरत भए माओवादी केन्द्रमा । जन्मजात कांग्रेसी रविनको यो संगठन कौशललाई सम्भवतः कांग्रेसले कहिल्यै बुझ्न सकेन । समयको हुरीसँगै रविनले असम्भवसरह नै काम गरेका हुन् माओवादीमा प्रवेश गरेर । उनको छविमा कम्युनिस्ट हुनुको रुप नभेटिए पनि अब बुनपा माओवादी केन्द्रका पर्याय बनेका छन् रविन अधिकारी ।

 
चैत्र ७ गते भएको माओवादी केन्द्रको नगर सम्मेलनले आगामी कार्यकालका लागि बिधिवत अध्यक्ष बनाएको छ । यसअघि उनी बुनपा नगर सम्मेलन आयोजक कमिटि संयोजक थिए । नगर सम्मेलन अघि उनीसँगै एकदर्जन नेताहरु बुनपा अध्यक्षमा दावी गर्दै थिए । शसस्त्र युद्धमा लडेको, कुन्नी को कोसँग नजिक भएको भन्नेहरुले दरिलै चुनौति दिने अनुमान थियो रविन अधिकारीलाई । तर नगर सम्मेलनमा ती पात्रहरु कोही उज्याला हुन सकेनन् । रविन अधिकारीले एकलौटी बनाए सम्मेलनलाई । उनका अघि कोही टिक्न सकेनन् ।

 
बुनपामा माओवादी केन्द्रको सबैखाले अस्तित्व अब रविन अधिकारीमा निहित छ । उनले के गर्छन् वा के के गर्न सक्छन् भन्ने कुरा हेर्न बाँकी छ । विकासे गतिबिधिमा उनले देखाएको स्तरीय पाइला अबका दिनमा कता पुग्ने हो त्यसको परीक्षाको घडी पनि आएको छ । नगरपालिकामा केही समयपछि हुने निर्वाचन उनको परीक्षा नै हो । यो चुनावपछि उनको विकासे गतिबिधि कि आकाशजत्तिकै उँचो हुन्छ कि सम्भवतः सँधैका लागि सकिन्छ । जो जिता वही सिकन्दर भनेझैँ जसले जित्छ अरुका लागि आउँदो ५ वर्ष राज चलाउँछ । रविनले जिते भने त ठिक छ हारे भने उनले के गर्लान् ? उनको गतिबिधि कस्तो होला ?

 
आसन्न स्थानीय निकाय चुनावमा माओवादी केन्द्रबाट रविन उठ्ने कुरामा दुईमत छैन । उनले चाहेनन् भने पनि उनले चाहेका मान्छे नै चुनावमा उठ्नेछन् । यो चुनावमात्र हैन त्यसपछिका प्रादेशिक चुनाव र संसदीय चुनाव दुवैमा उनकै परिधिमा बुनपा र क्षेत्र नं. ४ र ५ को राजनीति दगुर्नेछ । यति महत्वपूर्ण अवस्थामा पुगेका रविन अधिकारी तथा उनको ५५ सदस्यीय टीमलाई उत्तरोत्तरको प्रगतिको कामना तथा अझै सकारात्मक दिशातिर पाइला चाल्ने शुभकामना ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।