पुनर्निर्माणका लागि अति प्रभावित जिल्लाका कामदारलाई तालिम
कपन अनलाइन
काठमाडौँ, २ चैत । भूकम्पपछिको पुनर्निर्माणमा दक्ष कामदारको अभाव भइरहेको गुनासो बढेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले चार सय २० डकर्मीलाई तालिम दिइरहेको छ ।
परिषद्अन्तर्गत रहेको बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले भूकम्प अति प्रभावित रसुवा, धादिङ र नुवाकोटका गरी चार सय डकर्मीलाई तह एकको तालिम दिइरहेको रोजागार तथा परामर्श शाखाप्रमुख अनिल बज्राचार्यले जानकारी दिनुभयो ।
तालिम तीनै जिल्लामा एक हप्ताअघि देखि सञ्चालन भइरहेको छ । दुई महिनामा दक्ष कामदार तयार पारिने उहाँले जानकारी दिनुभयो । स्कूलले यसअघि पनि चार सय २८ कामदारलाई तालिम दिइसकेको छ ।
शङ्खरापुर पोलिटेक्निक इन्स्टिच्युटले साँखुमा काठमाडौँ र सिन्धुपाल्चोकका डकर्मी तह एक उत्तीर्ण गरी एक वर्ष काम गरेका २० डकर्मीलाई तह दुईको तालिम दिइरहेको छ । भूकम्पपछिको पुनर्निर्माणमा दक्ष कामदारको अभाव भएकाले डकर्मी तालिम आयोजना गरिएको इन्स्टिच्युटका संयोजक सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
भूकम्प अति प्रभावित १४ जिल्लामा पुनर्निर्माणका लागि ६० हजार दक्ष कामदार आवश्यक पर्नेमा हालसम्म १५ हजारले मात्र तालिम लिएका छन् । तालिम लिएका पनि सबैले काम गरेका छैनन् । जसका कारण घर पुनर्निर्माण गर्न चाहने पीडितले पनि कामदार पाएका छैनन् । रासस