‘सबै वर्ग, समुदायको उत्थानमा सहयोग पु¥याउने समाचार दिइनुपर्ने’
कपन अनलाइन
सप्तरी (राजविराज), २१ फागुन । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले राजविराजमा रहेको रासस सगरमाथा अञ्चल कार्यालय भवनको आज निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
उहाँले कार्यालयको भवन, भौतिक पूर्वाधारको अवस्था, सञ्चार सुविधा, समाचार सम्प्रेषण र तस्बिर सेवाका बारेमा जानकारी लिनुुभएको थियो । सो क्रममा अध्यक्ष वाग्लेले स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेकाले निर्वाचनको वातावरण बनाउनेतर्फ समाचार सम्प्रेषण गर्न त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले समाचार सम्प्रेषण गर्दा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष वाग्लेले रासस सञ्चारकर्मीले निश्पक्षरुपमा कलम चलाउनुपर्ने र सबै वर्ग तथा समुदायको उत्थान र विकासमा सहयोग पु¥याउने खालका समाचार दिइनुपर्ने बताउनुभयो ।
सो अवसरमा रासस सगरमाथा अञ्चल कार्यालयका प्रमुख सुरेश झाले कार्यालयको अवस्था र समस्याबारे जानकारी गराउँदै गुणस्तरीय, खोजमूलक र निश्पक्ष समाचार सम्प्रेषण गर्न आफूहरु खटिएको बताउनुभयो ।
आजै अध्यक्ष वाग्लेले विभिन्न स्थानमा रहेका समाचारदातासँग पनि छुट्टाछुट्टै भेटघाट र निर्वाचनको सम्बन्धमा छलफल गर्नुभएको थियो । रासस