एमाओवादी कपनको अध्यक्षमा शिव बजगाईं विजयी
सत्यनारायण अधिकारीले १ मत, सुवास राईले ९ मत ल्याए भने विजयी बनेको शिव बजगार्ईले १० मत ल्याए ।
विविध आन्तरिक तनावले करिब १ सातादेखि नेतृत्व चयन गर्न नसकिरहेको कपन एमाओवादीले अन्ततः निर्वाचन प्रकृयाद्वारा नेतृत्व चयन गरेको छ । चुनावी प्रकृयामा शिव बजगाईं आगामी कार्यकालका लागि कपन अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर ५(हिजो) रातमा भएको अत्यन्त गोप्य कार्यक्रममा सहमतिको लामो प्रयास असफल भएपछि चुनावी प्रकृयाबाट नेतृत्व चयन गरियो । अध्यक्ष पदका लागि शिव बजगार्इं, सुवास राई र सत्य नारायण अधिकारीले नोमिनेसन गरेको थिए । जसमा सत्यनारायण अधिकारीले १ मत, सुवास राईले ९ मत ल्याए भने विजयी बनेको शिव बजगार्ईले १० मत ल्याए ।
त्यसैगरी सचिवमा प्रतिद्वन्द्वि लक्ष्मी धिताललाई हराउँदै शिव बजगाईं प्यानलकै संचिता पौडेलले बिजयी भइन् । धेरैले सुवास राई अध्यक्ष हुने अनुमान गरिएको अवस्थामा शिव बजगाई अध्यक्ष भएको समाचार बाहिरिँदा धेरै एमाओवादीका कार्यकर्ता आश्चर्यमा थिए । निर्वाचन भएको र बिजयी भएको समाचार आज विहानमात्र सार्वजनिक गरिएको थियो ।
यस अघि पनि कपनमा नेतृत्व गरिसकेका शिव बजगाई पहिलोपटक खुल्ला अधिवेशनमार्फत प्रजातान्त्रिक पकृयाबाट अध्यक्ष पदमा विजयी हुँदा धेरैले उनको सरल, पारदर्शी र सांगठनिक छविका कारण भएको प्रतिकृया व्यक्त गरे । अध्यक्ष पदमा निर्वाचित भएपछि शिव बजगाईले कपन अनलाइनसँग गरेका संक्षिप्त वार्ता ः
कपनको नेतृत्वमा आउनु भयो, कस्तो लागिरहेको छ ?
मलाई खासै यो पदमा आउने भित्री लालसा थिएन । मैले आपसि समझदारीमा नेतृत्व चयनको प्रयास पनि गरेको हो । तर समझदारी हुन नसकेपछि निर्वाचन हुँदा मैले जितेँ । संगठनलाई अगाडि बढाउन धेरै कठिनाइहरु छन् । यी सबै कठिनाइलाई पार गर्ने अठोट लिएको छु ।
मूख्य कठिनाई के देख्नु भएको छ ?
सबैभन्दा मूख्य कठिनाई साथीहरुलाई एकताको भावनामा ल्याउनु हो । अनावश्यक बढेका दुरीलाई मिलाउनु पर्नेछ । लथालिङ्ग भएको संगठनलाई विस्तार गर्नु पर्ने काम छ । पार्टीभित्र काम गर्दा गुटभन्दा माथि रहेर काम गर्ने योजनामा छु । हाम्रो अध्यक्ष प्रचण्ड हुन् भन्ने भावनामा सबैलाई एकिकृत गरेर अगाडि बढ्नु छ ।
राजनीतिक रुपमा तपाईलाई पनि एउटा गुटको भनेर प्रचार भएको थियो, के भन्नु हुन्छ ?
मलाई पनि केही केहीले पार्टीभित्र व्यक्तिवादी बिल्ला लगाउने कोशिसचाहिँ भयो । तर म कुनै गुट वा व्यक्तिको बिल्लाभन्दा टाढा छु । म नितान्त एकिकृत माओवादीको कार्यकर्ता हुँ । कुनै पनि हालतमा म गुटलाई मान्ने वा पश्रय दिनेवालामा छैन ।
तपाईलाई भट्टराई पक्ष भनेर आरोप लगाइएको थियो, गलत हो ?
सरासर गलत हो । म त्यो पक्षको होइन । मेरो राजनीति विग्रियोस् भनेर केही केहीले गरेको दुष्प्रचारमात्र हो यो । मेरो पार्टीमा अध्यक्ष प्रचण्ड हुनुहुन्छ अनि उपाध्यक्ष बाबुराम भट्टराई हुनुहुन्छ । म उहाँहरुको कार्यकर्ता हुँ । पक्षको कुरा गर्दा म शिव बजगाईं पक्ष हँु । नितान्त कम्युनिस्ट पार्टीको कार्यकर्ता हुँ ।
कपन एमाओवादीभित्र हल्का द्वन्द्व देखिन्छ, कसरी पार्टीलाई अगाडि बढाउने सुरमा हुनुहुन्छ ?
मेरो नजरमा त्यस्तो ठूलो द्वन्द्व देख्दिन । कोही मेरा दुष्मन छैनन् जस्तो लाग्छ । हिजो अधिवेशनको अवस्थामा साथीहरुले द्वन्द्व देखिरहनु भएको अवस्थाचाहिँ थियो । अधिवेशनमा पनि शिव बजगाईलाई हैन उसको प्यानललाई हराउनु पर्छ भनेर लागेका साथीहरु थिए, मैले उहाँहरुले भनेको थिएँ म कुनै नेता भनेर उठेको हैन । साथीहरुले विश्वास गरेर म अध्यक्ष पदमा निर्वाचित भएको छु । सबैलाई धन्यवाद दिन चाहन्छु । कपनलाई एकपटक एमाओवादीमय बनाउन सबै साथीहरुलाई एकजुट भएर अगाडि बढ्न हार्दिक आग्रह गर्न चाहन्छु ।