बहिरा विद्यार्थीलाई उपाधि
कपन अनलाइन
बागलुङ, १२ फागुन । छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ ।
जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार ५५५ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
तीनवटा निर्वाचन क्षेत्रमा भएका क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आएका एक हजार ३३८ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै बहिरा विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । उक्त विद्यालयले युवा तथा खेलकुद मन्त्रालयबाट रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सलगायत १५ विधामा भएको प्रतियोगितामा ११२ अङ्कका साथ कालिका कन्या माध्यमिक विद्यालय दोस्रो र बलेवा नारायणस्थानको जनताधन माध्यमिक विद्यालयले ९५ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेको समितिका सदस्य सचिव भीमसेन शाक्यले जानकारी दिनुभयो ।
दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः रु ३३ हजार ३३३ र रु २२ हजार २२२ पुरस्कार प्राप्त गरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले अब पश्चिमाञ्चल क्षेत्रीयस्तरको छनोट खेलमा सहभागिता जनाउने छन् । एकल विधामा पहिलो हुने खेलाडीले सोझै क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीले कुल २२२ पदकको लागि प्रतिस्पर्धा गरेका थिए । रासस