कपन संगीत सरोवरको छैठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
शास्त्रीय संगीतलाई संगीतको जननी भनिन्छ । नेपालमा पनि पछिल्ला केही वर्षदेखि शास्त्रीय संगीतका विभिन्न कार्यक्रम नियमितरुपमा हुन थालेका छन् । विभिन्न इन्स्टिच्युटहरुमा सिमित रहेको यो शास्त्रीय संगीत मञ्चका मार्फत प्रस्तुत गर्ने संस्थाहरु अहिले राजधानीमा करिब १० वटा रहेका छन् । यसैक्रममा काठमाडौंको कपनमा कपन संगीत सरोवर भन्ने संस्थाले विगत ६ वर्षदेखि नियमितरुपमा शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम सञ्चालन गरिरहेको छ । उपत्यकाभित्र रहेको यस गाउँमा शास्त्रीय संगीतका रागहरु सुनाउने क्रममा कपन संगीत सरोवरले कार्यक्रममात्र प्रस्तुतमात्र नभई संगीतका स्रस्टाहरुलाई पनि सम्मान गर्ने तथा विभिन्न शास्त्रीय विधाहरुमा प्रतियोगितात्मक कार्यक्रम पनि आयोजना गर्ने गरेको छ । हरेक महिनाको अन्तिम सनिवार यस संस्थाले आफ्नो नियमित कार्यक्रम आयोजना गर्ने गरेको छ ।
कपन संगीत सरोवरले कार्तिक २५ गते आफ्नो छैठौं वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्यो । कपन गाविसको वडा नं. २ मा प्रसिद्ध बगलामुखी मन्दिर परिसरमा रहेका संस्थाको नियमित कार्यक्रम स्थलमा आयोजित भव्य कार्यक्रममा वरिष्ठ संगीतज्ञ सरोदवादक श्री मोहनसुन्दर श्रेष्ठलाई संस्थाले सम्मान गरेको थियो । रु. १०,००० नगदसहित ताम्रपत्रमा सम्मान गरिने कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुरुषोत्तम सापकोटाको उपस्थिति थियो । शास्त्रीय संगीत एवम् नेपाली सुगम संगीत क्षेत्रका वरिष्ठ व्यक्तिहरु होमनाथ उपाध्याय, डा.ध्रुवेशचन्द्र रेग्मीका साथमा सुरेश अधिकारी, लक्ष्मण शेष, लोचन भट्टराईलगायतका थुप्रै कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा उदय उमेश खनालले भक्ति संगीतको कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैगरी संगीतकार विनय वर्मा तथा उनी सुपुत्री सुजाता वर्माको नयाँ भजन संग्रह भक्ति दर्शनको लोकार्पण गरिएको थियो ।
कपन संगीत सरोवरको छैठौं वार्षिकोत्सव कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औं जन्म जयन्तिको अवसर पारेर साहित्यिक स्वरुप पनि प्रदान गरिएको थियो । देवकोटामा समर्पित कविताहरु वाचन गरिएको थियो ।