नागमणी : हत्यामा संलग्नहरु सार्वजनिक

अस्मिता बस्नेत ,चौतारा, १५ कात्तिक : नागमणी पाइन्छ भन्दै बोलाएर एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्तहरुलाई सिन्धुपाल्चोक प्रहरीले हिजो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । भक्तपुरका नगरपालिका–१६ का ३६ वर्षीया भुषण किलम्बु लगायतका तीन जनालाई सिन्धुपाल्चोक मांखा गाविसका स्थानीयले नागमणी पाइने भन्दै बोलाएका थिए ।

नागमणी पाउने आशाले रकम लिएर सिन्धुपाल्चोकको धुस्कोट गाविसको ओखरेनी जंगलमा पुगेका किलम्बुको समुहलाई त्यहाँ जम्मा भएको युवाहरुले एक्कासी आक्रमण गरेका थिए । लिन त्यहाँ पुगेका सिन्धुपाल्चोक बतासेका भरत श्रेष्ठ भाग्न सफल भएपनि भुषणलाई भने स्थानीय राजु तमाङसहितको टोलीले लौराले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी प्रताप गुरुङले जानकारी दिए ।  भक्तपुरको एक फर्नीचरमा सामान्य मजदुरी गर्दै आएका किलम्बुको घर छेउमा डेरा गरी बस्ने काभ्रे नयाँ गाउँका अक्कलबहादुर तमाङले सिन्धुपाल्चोकको विभिन्न स्थानमा सस्तोमा नागमणी पाइने भनेर फकाएपछि किलम्बु सिन्धुपाल्चोकमा जान तयार भएको डीएसपी गुरुङले जानकारी दिए ।

भुषणको समूह फुल्पिङकोट गाविसको धुस्कोट हुदै ओखरेनी जंगलमा पुगेपछि त्यहाँ जम्मा भएका सात आठ जनाको समुहले आक्रमण गरेका थिए । प्रहरीका अनुसार भुषणको मांखा ७ का हरीबहादुर तामाङ र सोही वडाका काइला तामाङ, श्यामबहादुर तामाङ, सिंहबहादुर तमाङ, साइला तामाङ र पाल्देन तामाङ भएर हत्या गरेका हुन् ।  भुषणलाई भदौ २२ गते बेलुकी ५ बजे हत्या गरेर मांखाको रातमाटे भिरबाट फालिदिएको प्रहरीले जानकारी दिएको छ । भुषण हत्यामा संलग्न अक्कलबहादुर र सिन्धुपाल्चोक मांखाका राजु तमाङ भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।