जगडोलवासीले प्र.अ. अपहरण गर्न खोज्नेलाई समाते

नवरात्रको अघिल्लो दिन कपन ५ मा भएको हत्याकाण्डपछि करिब १४ दिन शान्त रहेको कपन, कोजाग्रत पूर्णिमाको दिन अपहरण काण्डबाट फेरि आफ्नो रंगमा देखिएको छ । पछिल्ला केही वर्षदेखि अपहरणको समस्या देशभरी व्याप्त भैरहेकोमा कपनमा पनि छिटफुट अपहरणको समस्या देखिँदै आएका हुन् ।
कार्तिक १३ गते कपनसँग जोडिएको चुनिखेल गाविसको नौलिन माविका प्र.अ. लाई यसैगरी अपहरणको प्रयास भएको हो । किन र के का लागि भन्ने पुष्टि नभए पनि चुनिखेल गाविसको थानेडाँडाबाट दिउँसो करिब ३ बजे मोटरसाइकलमा आएका दुईजनाले प्र.अ. राजाराम पौडेलको जबर्जस्ति अपहरण गरेका हुन् । मोटरसाइकलमा बीचमा राखेर पछाडि बस्नेले मुख थुनेर कपन ७ जगडोलतिर ल्याइल्याइरहेको अवस्थामा स्थानीयले मोटरसाइकललाई घेरा हालेर छेकेका थिए ।
घटनास्थलमा प्रहरी पुग्नु अघि नै गोकर्ण बस्ने तामाङ थर भएका र सिन्धुपाल्चोक बस्ने गिरी थर भएका दुईजनालाई स्थानीयहरुले समातिसकेका थिए ।

 

स्थानीय सामाजिक कार्यकर्ता अच्यूत पौडेलका अनुसार स्ल्पेण्डर मोटरसाइकलमा आएका अपहरणकारीले भूलबस जगडोलको बाटो आउँदा स्थानीयको प्रतिकारमा परेका हुन् । राजाराम पौडेल स्वयम् जगडोल निवासी हुन् । यस विषयमा कपन प्रहरी प्रभागले अनुसन्धान भैरहेको तर कुनै तथ्य बाहिर नआएको बतायो ।

तपाइँको प्रतिक्रिया ।