यो वर्षको कपन सङ्गीत सरोवर सम्मान मोहनसुन्दर श्रेष्ठलाई

कपनमा शास्त्रीय तथा भक्ति सङ्गीतका नियमित कार्यक्रम गर्दै आइरहेको कपन सङ्गीत सरोवरले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा वरिष्ठ शरोदवादक कलाकार मोहनसुन्दर श्रेष्ठलाई सम्मान गर्ने भएको छ । हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा एकजना वरिष्ठ सङ्गीतज्ञलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने क्रममा कपन सङ्गीत सरोवरको हालै बसेका बैठकबाट कलाकार श्रेष्ठलाई सम्मान गर्ने निर्णय भएको हो । रु. १०,००० नगदसहितको सम्मान कार्यक्रममा ताम्रपत्र तथा दोसल्ला ओढाइने छ ।

कपन सङ्गीत सरोवरले आउँदो कार्तिक २५ गते हुने आफ्नो वार्षिकोत्सव कार्यक्रममा कलाकार श्रेष्ठलाई यो सम्मान गर्ने भएको हो । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पुरुषोत्तम सापकोटा हुनुहुने संस्थाले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा सम्मानित व्यक्तित्व मोहनसुन्दर श्रेष्ठको शरोदवादन कार्यक्रम पनि रहेको छ । विशेष अतिथिका रुपमा देशका वरिष्ठ शास्त्रीय तथा अन्य सङ्गीतकार तथा गायक कलाकारहरु आउने पनि सङ्गीत सरोवरले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।