तारेभीर महोत्सवलाई प्रतिष्ठाको विषय बनाउँदै गोकर्णेश्वर नगरपालिका
कपन अनलाइन
गोकर्णेश्वर तारेभीरमा हुन लागेको तेस्रो तारेभीर महोत्सवलाई गोकर्णेश्वर नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरपालिकाको महत्वपूर्ण कामको रुपमा यो मोहत्सवलाई लिएको कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले बताइन् । नगरको टुपी महोत्सव बताउँदै थपलियाले यो महोत्सवले त्यस भेकको समुदायको जीवनस्तर उकासिरहेको बताइन् ।

कपन अनलाइनसँग कुरा गर्दै थपलियाले तारेभीर रक क्लाइम्बिङका लागि काठमाडौंको गन्तव्य बनाउन सकिने बताइन् । तेस्रो महोत्सवमा रक क्लाइम्बिङलाई प्रमुखताका साथ फोकश गर्दै यस क्षेत्रमा होम स्टेको पनि सम्भावना यस महोत्सवले खोज्ने बताइन् । कार्यकारी अधिकृतले यो तारेभीर महोत्सवले यस क्षेत्रलाई स्वदेश तथा विदेशमा समेत परिचय बनाएको बताउँदै नगरपालिकाले पनि बजेट बिनियोजन गरेको बताइन् । कार्यकारी अधिकृत थपलियाले तामाङ समुदायको क्षेत्र भएकाले बौद्ध धार्मिकस्थलको रुपमा पनि यसलाई अर्थपूर्ण रुपमा विकास गर्न सकिने बताइग् ।

नगरपालिकामा सहजीकरण संयोजक नेपाली कांंग्रेसका नेता श्रीकृष्ण ज्योतीले यो महोत्सव नगरको प्रतिष्ठासँग जोडिएको बताउँदै सबैजना मिलेर यो महोत्सवलाई सफल बनाउन पर्ने बताए । तारेभीरमा ठूलो बुद्धको मूर्ति राख्ने योजना पनि बनाएको बताउँदै ज्योतीले तामाङ समुदायको मौलिकतासँग यो क्षेत्रको विकास खोज्ने काम भैरहेका बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकामा एमालेका तर्फबाट सहजीकरण सदस्य उद्धब बिष्टले पिछडिएको बस्तीको विकासका लागि यो कार्यक्रम फाइदाजनक हुँदै गएको बताए । बिष्टले तामाङ बस्तीको हितमात्र नभै उपत्यका महत्वपूर्ण उचाइमा रहेको क्षेत्र भएकाले भ्यूको हिसाबले पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्ने बताए । पूर्व गाविस अध्यक्षसमेत रहेका विष्टले यो महोत्सवले नेपालीहरुबीच तारेभीरको आकर्षण बढाउने बताए ।

त्यसैगरी नगरपालिकामा माओवादी केन्द्रका सहजीकरण सदस्य टिआर नेपालले पनि यो महोत्सवले सिंहदरबारको ध्यान खिचेको बताउँदै स्थानीय जनताको चासो पनि बढेको बताए । महोत्सवले गोकर्णेश्वरको जनतालाई तारेभीर हाम्रो प्रतिष्ठाको विषयहो भनेर चिनाएको बताए । नेपालले सबैजना मिलेर महोत्सव सफल पार्नु पर्ने बताए ।

नगरपालिकाको सहजीकरण समितिका सदस्य नेकपा संयुक्तकी देविका नेम्वाङले पनि सबैलाई तारेभीर महोत्सवमा आउन आग्रह गर्दै यो कार्यक्रम गोकर्णेश्वरको गौरव हुँने बताइन् । हरेक वर्ष माघ १ गते हुने तारेभीर महोत्सवमा सर्वसामान्यको ठुलोचासो रहेको देखिन्छ ।
