सामान्य विवादमा निर्दोषको ज्यान गयो !! (घटनाको पूर्ण स्वरूप )

यसरी हिजो साँझ कपन वडा नं. ५ भएको घटनामा मणिराम राउतको मृत्यू भएको छ ।

घटनाको पृष्ठभूमि

हिजो करिब ४ बजेतिर कपनको प्रसिद्ध प्रभुचोक(गाँजा खानका लागि टाढाटाढादेखि आउने यो चोकमा प्रभु भन्ने मानिसले विगत करिब २५ वर्षदेखि गाँजालगायत लागु पदार्थ बेच्दै आएका छन्)मा केही केटाहरुको जमघट थियो । यस्ता केटाहरु यो ठाउँमा भइरहन्छन् । कसैले चासो दिएर साध्य हुँदैन । यी केटाहरु यताका मानिसहरुले पहिला पनि देखेका खालका थिए । केटाहरुले प्रभुको चिया पसलमा चिया तथा लागु पदार्थ सेवन गरेपछि स्थानीय विसुकुमार के.सी.को घरतिर फर्केर ३–४ जनाले पिसाब फेरिरहँदा विसु कुमार के.सी.का छोरा जुलुस के.सी. ले पिसाब नफेर्न भने । यी केटाहरुले मानेनन् । उल्टो धम्क्याए । केही छिन उनीहरुको बहश भयो । केटाहरुले जुलुसलाई इँटा टिपेर हान्न खोजे । स्थानीय महिलाहरुले बचाए । जुलुससँग यसरी विवाद भैरहेको देखेपछि मणिराम राउतका भाइ जयले जुलुसलाई सघाए । जयले एक थप्पड ती केटाहरुमध्ये एकलाई लगाए । केटाहरु तिमीहरुलाई छोड्दिन भन्दै हिँडे । केटाहरुले आफ्ना केही साथीहरुलाई फोन गरे ।

 

हिजो कपनमा भएको दुखद घटनामा दिबंगत भएका मणिराम रावत !

घटना

साँझ ६ः३० बजेतिर एक्कासी केही केटाहरु जुलुसको घरमा ढक्क्याउन पुगे । ढोका बन्द थियो । भित्र जुलुस र उनी आमा मात्र थिए । जुलुसले को हो ? भनेर कराए । केटामध्ये एकले म नविन भन्यो । जुलुसको एकजना नविन भन्ने साथी थिए । तर नविन ४ वर्षदेखि अमेरिकामा भएकाले जुलुसलाई शंका लाग्यो उसले ढोका खोलेन । त्यहाँ ढोका नखोलिए पछि केटाहरु जयको घरतिर लागे । जयको घर पनि बन्द थियो । उनीहरुले बोलाए तर जय आएन तर त्यहि बेला जयका दाइ नेपाली सेनामा कार्यरत मणिराम अफिसबाट घर आइपुगे उनीहरुले जुलुस र जयको रिस मणिरामलाई पोखे । मणिरामको छातिको देब्रेभागमा खुकुरी प्रहार गरे । मणिराम तत्काल त्यहिँ लडे । सबै मिली ओम हस्पिटल लगे । डाक्टरले मृत घोषण गर्यो ।

मणिराम राउत

उनी मंसिरमा शान्ति सेना अन्र्तगत कंगो जाने तयार गरिरहेका थिए । अफिसबाट घर फर्किदै गर्दा ५ः३० बजे पूरानो साथीलाई भेटेपछि एकछिन रोकिएर भलाकुसारी गरे । कंगोबाट फर्किएपछि जागिर त छँदै छ खेतिपातिको नयाँ क्षेत्रमा हात हाल्नु पर्ला सहयोग गर्नुपर्छ भन्दै थिए उनी । आफ्नो सानो संसारमा रमाउने उनको बानी थियो । फेशबुकमा आफ्नो बारे यस्तै लेखेका छन् उनले । मिलनसार भनेर चिनिने मणिराम राउत दाजुभाइमा माहिलो भए पनि घरमा कमाउने एउटै मात्र व्यक्ति थिए ।
अफिसबाट घर आए । घरमा ढोका लगाएको थियो । बाहिर केही अपरिचित केटाहरु थिए । के हो ? किन हो ? भनेर सोधेका मात्र के थिए एकजनाले उनलाई देब्रे छातिमा खुकुरी प्रहार गर्यो । घरको पिँढीबाट उनी लडे टाउको भँईंमा ठोक्कियो । अइया !! मात्र भन्न पाए । उनलाई खुकुरी प्रहार गर्ने भागे । त्यसपछि आफ्ना घर तथा छिमेकीले बसमा हालेर ओम हस्पिटल ल्याउँदा डाक्टरले उनलाई मृत घोषणा गर्यो ।

मुख्य दोषी प्रभुको गाँजा पसल 

कपन गाविसको ५ नं. वडामा रहेको गणेश मन्दिर क्षेत्र अर्थात् प्रभुचोक वषौंदेखि गाँजाका लागि प्रसिद्ध ठाउँ हो । कुनै जमानामा कपनलाई बाहिरतिरका केटाहरु प्रभुको गाउँको रुपमा चिन्थे । प्रभुसँग गाँजा लिनका लागि राजधानीका कुनाकुनाबाट मानिसहरु आउँछन् अहिले पनि । स्थानीयले पटकपटक विरोध गरेर यी प्रभु नाम गरेका वृद्ध व्यक्तिलाई पुलिसको जिम्मा पनि लगाएका हुन् तर पुलिसले नै हप्ता असुली गरिरहेकोले यो गाँजा पसल बन्द हुन नसकेको स्थानीयहरुको आरोप छ । अझै पनि पुलिसहरु बेलाबेलामा हप्ता लिन प्रभुको पसलमा पुगिरहेका हुन्छन् एक स्थानीय आक्रोश पोख्छन् । यो चोकमा बेलाबेलामा विभिन्न तवरको झडप पनि भैरहेको हुन्छ ।
यसरी बाहिरको केटाहरु यहाँ आएर गाँजा खाएर चाहिँदो नचाहिँदा गर्दा यहाँका स्थानीयले कतिपय पटक प्रभु तथा उनको परिवारलाई सम्झाएका पनि हुन् तर उनले एक कानले सुन्ने र अर्काे कानले उडाउने काम गरे । उनको काम रोकिएन ।
यो घटनाको मुख्य दोषि व्यक्तिगत रुपमा केही केटाहरु भए पनि गाँजा तथा नशाको व्यपार गर्ने यो प्रभुको पसलले नै गर्दा यो घटना हुन पुगेको हो । स्थानीयहरु यतिखेर सबैभन्दा आक्रोशित प्रभुको गाँजा पसलसंग  छन् ।

प्रहरी के गर्दैछ ?
कपन डाँडामा भएको जघन्य हत्याको खबर कपन प्रहरी प्रभागलाई ढिलो प्राप्त भयो । मणिरामको मृत्यू भएको घोषणा भएपछि माओवादी नेता पासाङका स्वकीय सचिव प्रवेशले खबर गरेपछि मात्र कपन प्रहरी प्रभाग प्रमुख नवराज ढुंगानाले घटनाका बारेमा थाहा पाए । त्यसपछि प्रहरी परिचालन गरियो । तर प्रसङ्गवश हिजो नै सतुंगलमा सिजि ग्रुपको कारखानामा भएको भीषण आगलागीका कारण कतिपय प्रहरी प्रमुखहरु त्यता लागेका थिए । नवराज ढुंगानाले चारैतिर प्रयास गरे । त्यसपछि बौद्धका डिएसपि श्याम ज्ञवाली प्रहरी फोर्ससहित आइपुगे । हनुमान ढोकाबाट पनि एउटा टोली आयो । संभावित आक्रमणकारीको एरिया हुनसक्ने बालुवाखानी क्षेत्रमा राति ढिलोसम्म सर्च गरियो । पटक पटक प्रहरीले समातिसकेका बालुवाखानी क्षेत्रका नगरकोटी थरका एकसहित ९ जनालाई संभावित आक्रमणकारी सूचित गरी प्रक्राउ गरियो । प्रहरी रातभर खट्यो । कपन प्रभाग प्रमुख नवराज ढुंगानाले कपन अनलाइनलाई, “संभावित आक्रमणकारी प्रकाउ परिसकेका छन् त्यसैले सत्यतथ्य चाँडै नै बाहिर ल्याउँछौं” भने । पक्राउ गरिएका सबैलाई बौद्ध चलान गरिसकिएको छ । पक्राउ परेका मध्ये गाँजा तथा लागु पदार्थ व्यपारी प्रभु पनि छन् ।

प्रहरीको  सक्रियता र स्थानीयको सजगता आवश्यक 

विजयादशमीको मुखमा कपनमा भएको यो घटनाले एक त निर्दाेष यी यूवाका परिवारले आफ्नो प्यारो पुत्रलाई अकालमा गुमायो । त्यतिमात्र हैन चाडवाडमा जाँडरक्सि तथा लागुपदार्थ खाने क्रियाकलाप अरु बेलामा भन्दा झन् बढि हुनाले यो घटनाले कपनवासी त्रशित भएका छन् । वढ्दो आवादी, बेरोजगारी तथा सामाजिक रुपमा जताततै जाँडरक्सि लगायत लागुपदार्थ बेरोकटोक प्रयोगले कपनलाई नराम्ररी गाँजेको छ । कपनको प्रमुख समस्या भनेको नै यही हो । यस्ता समस्यामा प्रहरी भएर मात्र पुग्दैन । हजार जना प्रहरी कपनमा राखेर शान्ति सुरक्षा हुने हैन, प्रहरीले गर्ने कृयाकलाप सबैभन्दा मूख्य विषय हो ।

नेपालमा फस्टाउँदो गुण्डागर्दीमा प्रहरी स्वयम्को पनि भूमिका हुने गरेको छ । गुण्डा तथा नराम्रा मानिसहरुसँग प्रहरीको मिलेमतो गम्भीर विषय बनेको छ । पछिल्ला दिनमा कपन प्रभाग प्रमुख नवराज ढुंगानाले केही सकारात्मक सन्देश दिन खोजे पनि यो पर्याप्त भएको छैन । प्रहरीले सबैभन्दा पहिला यस्ता नराम्रा कृयाकलापका अखाडाहरुलाई सदाको बन्द गर्नु पर्छ । भोलिदेखि प्रभुको पसल खोल्न दिनु भएन । त्यसैगरी कतिपय स्नुकर तथा पुल हाउस पनि यस्ता नकारात्मक कृयाकलापका केन्द्र बनिरहेका छन् । यस्ता क्षेत्रको पनि मोनिटरिङ हुनुपर्छ ।

साथसाथै आम जनता पनि नकारात्मक कृयाकलापप्रति सचेत हुनुपर्छ । छिमेकमा परेका समस्या मेरो पनि समस्या हो भन्नु आवश्यक छ । प्रहरी हाम्रा सुरक्षाको लागि हो भनेर आत्मसात गर्नु आवश्यक छ ।

तपाइँको प्रतिक्रिया ।