सेपाक ताक्रो खेलाडीलाई उपहारसहित शुभकामना

सेपाक ताक्रो खेलाडीलाई उपहारसहित शुभकामना

कपन अनलाइन

पौष २६ । सेपाक ताक्रो खेलका खेलाडीहरु श्रीलंकामा हुने सार्कस्तरीय प्रतियोगितामा खेल्न जान अघि उपहारसहित शुभकामना प्रदान गरिएको छ । महराजगन्जमा रहेको खुशी फेशनले सेपाक ताक्रो खेलाडीलाई आज एक कार्यक्रमसहित उपहार तथा शुभकामना दिएको हो ।

खेलकुद तथा सामाजिक क्षेत्रका सक्रिय मनिष जोशीको खुशी फेशनले पुरुष र महिला टीमका ८ जना खेलाडीहरुलाई जर्सी, जुत्तालगायतका वस्तुहरु उपहार दिनुका साथै शुभकामना प्रदान गरेका थिए । खेलाडीहरुले श्रीलंकामा सार्कस्तरीय प्रतियोगितामा भाग लिन यसै हप्ता विदाई हुँदैछन् ।

 
सामाजिक सेवामा सक्रिय मनिष जोशीले गजराज जोशी ट्रष्ट र खुशीका तर्फबाट खेलीडाीहरुलाई प्रोत्साहनस्वरुप केही उपहार दिन पाएकोमा आफू खुशी भएको बताए । जोशीले यस अघि पनि खेलकुदका बिभिन्न कार्यक्रम र खेलाडिहरुका लागि सहयोग गर्दै आएका छन् । हालै सम्पन्न भएको राष्ट्रिय खेलकुदमा नांगो खुट्टाले भाग लिएकी गुडिया गुप्ताका लागि विशेष सहयोग गर्ने भएका छन् ।

 
बाँसको बल खेल्ने सेपाक ताक्रो खेल नेपालमा करिब डेढ दशक अघि भित्रिए पनि चर्चा रहेको छैन । वर्तमान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले यस खेललाई नेपाल भित्र्याएका हुन् । सेपाक ताक्रो खेल संघमा हाल नेत्रप्रसाद गुरुङ अध्यक्ष छन् ।

तपाइँको प्रतिक्रिया ।