संविधान संशोधन गरेर अगाडि बढ्नु नै उत्तम विकल्प :- डा कोइराला
कपन अनलाइन
काठमाडौँ, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तक्र्रियामा बोल्दै डा कोइरालाले सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
डा कोइरालाले नेकपा (एमाले)लाई बाहिर राखेर संविधान संशोधन गर्न नमिल्ने बताउँदै भन्नुभयो – “नेकपा (एमाले)ले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने तर संसद् अवरुद्ध गर्नु ठीक काम होइन ।”
डा कोइरालाले हतारमा संविधान घोषणा हुँदा मुलुकमा समस्या उत्पन्न भएको भन्दै सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र मुलुकले निकास पाउने बताउनुभयो ।
उहाँले २०७४ माघ ७ गतेसम्म तीनवटै निकायको निर्वाचन गर्न सम्भव भएको बताउँदै यसका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
काँग्रेसका नेता शोभाकर पराजुलीले काँग्रेसले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र विपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानमा उल्लेख भएका कुरालाई मान्दै संविधान संशोधन गरी सबैको भावनालाई समेटेर अगाडि बढे मुलुकले निकास पाउने बताउनुभयो ।
वरिष्ठ पत्रकार कवीर राणाले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने हो भने बिपी कोइरालाबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्याल, केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्ष समीरजङ्ग शाह, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहन ज्ञवाली, युनियन काठमाडौँका पूर्व अध्यक्ष गोकर्ण अर्याललगायतले काँग्रेस बलियो भएमात्र मुलुक बलियो हुने भन्दै काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र मेलमिलापको खाँचो रहेकामा जोड दिनुभयो । रासस