संशोधन प्रस्ताव पारित नभए निर्वाचन असफल बनाउने मधेशी मोर्चाको निर्णय
कपन अनलाइन
काठमाडौँ, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक संसदबाट पास नभए सबै निर्वाचनहरु असफल बनाउने निर्णय गरेको छ ।
प्रमुुख तीन दलको समझदारीमा सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला दुई दिनसम्म बसेको मोर्चाका शीर्ष नेताहरुको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने जिकिर गरेको हो ।
प्रमुुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण संसदमा पेश भइसकेको संशोधन प्रस्तावमा छलफल हुन सकेको छैन । तर मोर्चाले भने सरकार नै संशोधन प्रस्तावप्रती उदासिन हुदै गएको गुनाशो गरेको छ ।
गत मंसिर १६ गतेदेखि एमालेले लगातार संसद अवरुद्ध गर्दा संशोधन प्रस्ताव, निर्वाचन कानुन सम्बन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुन सकेको छैन ।
मोर्चाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संविधान संशोधन प्रस्ताव अलपत्र परेको र राजनीतिक गतिरोध लम्बिएको निष्कर्ष निकाल्दै त्यसको विरोध गरेको छ । मोर्चाले यही पुस १८ गते देशभरका जिल्ला सदरमुकाममा बिरोध सभा गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, राज्य पुनसंरचना आयोगले एकपक्षीय रुपले बनाएको प्रतिवेदन स्वीकार नगर्ने बताएको छ । मोर्चाले बनाएको प्रतिवेदन संविधानको भाबना विपरित र क्षेत्राधिकारभन्दा बाहिरबाट तयार पारिएकाले स्वीकार नगर्ने मोर्चाले दावी गरेको छ ।