स्वास्थ्य मन्त्री गगन थापाले राज्यकोषको दुरुपयोग रोक्ने कार्यविधि पारित गरेरै छाडे

कपन अनलाइन, काठमाडौं, ८ पुस, २०७३

गगनकुमार थापा स्वास्थ्य मन्त्री भएदेखि नै चर्चाको विषय बनेको राज्यकोषको दुरुपयोग गरेर पूर्व विशिष्ट पदाधिकारीको स्वास्थ्य खर्च गर्ने विषय अन्तत: कार्यबिधिको रुपमा मन्त्री परिषदले पारित गरेको छ ।  सरकारले पुर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउने भनिएको नयाँ कार्यविधि पारित गरेको हो ।  आर्थिक सहायताका नाममा भइरहेको राज्यकोषको दुरुपयोगलाई नियन्त्रण र व्यवस्थीत गर्न स्वास्थ्य मन्त्री गगनकुमार थापाको सक्रियतामा बनाइएको कार्यविधिलाई आजको मन्त्रीपरिषदको विधयक समितिले संशोधन सहित पारित गरेको हो ।

 

यसअघि मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाईनल इन्जुरी, हेड इन्जुरी, सिकलेस एनिमिया गरी आठ प्रकारका रोगको उपचारका लागि दिदै आएको सहायता रकम अबदेखि थप चार रोग कलेजो, अप्लाष्टिक इनिमिया, थालिसिमिया, मश्तिष्क आघातको उपचारका लागि पनि दिइने भएको छ ।

 

कार्यविधि बमोजिमको औषधि उपचार सहायता माग गर्दा स्वदेशको हकमा बिरामीले रोग खुलेको चिकित्सक प्रेस्क्रिप्सन, नागरिकताको प्रतिलिपी र विदेशमा गई उपचार गराउनु पर्ने भएमा नेपाल मेडिकल वोर्डवाट बिरामीको उपचार स्वदेशमा सम्भव नहुनाको कारण सहितको सिफारिस पत्र संलग्न गरी स्वास्थ्य मन्त्रालयमा निवेदन दिनुपर्नेछ । बिरामी संलग्न रहेको अन्य कुनै निकायबाट विरामीले औषधि उपचार सहायता पाए नपाएको सम्बन्धमा एकीन भएपछि मात्रै सहायता सम्बन्धी प्रक्रिया अगाडी बढाइनेछ ।

 

कुनैपनि व्यक्तिले राज्यबाट दोहोरो सुविधा लिएको पाइएमा सरकारी बाँकी सरह असुल उपर गरिने कार्यविधिमा उल्लेख छ ।  कार्यविधि अनुसारको रकमका लागि औषधि उपचार वापतको सुविधा सरकारी वा गैरनाफामूलक सामुदायिक अस्पतालमा उपचार गराउदा मात्र पाईने छ । सरकारी, सामुदायीक र स्वदेशी अस्पतालमा उपचार हुन नसकेमा मात्रै विदेशी अस्पतालमा उपचार गराउन पाइने कार्यविधिमा व्यवस्था छ ।

सरकारी तथा स्वदेशका अस्पतालमा उपचार सम्भव हुँदाहुँदै आफुखुसी विदेशका अस्पतालमा उपचार गराएमा औषधी उपचार सहायता उपलब्ध नगराइने कार्यविधिमा लेखिएको छ । सीमा भन्दा बढीको औषधि उपचार सहायता कुनैपनि व्यक्तिलाई दोहर्याएर नदिइने र औषधि उपचार सहायता सम्वन्धी कुनैपनि प्रस्ताव स्वास्थ्य मन्त्रालयमार्फत मात्र मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने भएको छ । मन्त्रीपरिषदले आफ्नो तजविजले जुनसुकै व्यक्तिलाई जतिपनि रकम दिन सक्ने यसअघिको व्यवस्था अहिले खारेज भएको छ ।

 

स्वदेशमा उपचार गराउने विरामीहरुको हकमा निर्णय भए बमोजिमको रकम औषधि उपचार पश्चात अस्पतालको प्रतिवेदनका आधारमा सम्बन्धित अस्पताललाई सोधभर्ना स्वरुप उपलब्ध गराइनेछ ।साथै कार्यविधिले व्यक्ति विशेषलाई नगद रकम उपलब्ध गराइने छैन् । कार्यविधि बमोजिम उपचार खर्च प्राप्त गर्ने व्यक्तिहरुको नाम सहितको विवरण मन्त्रालयको वेभसाइटमा राखिनेछ । कार्यविधिमा भुतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढिमा १५ लाख रुपैया सम्म मात्र औषधि उपचार सहायता उपलव्ध गराइने उल्लेख छ ।

त्यस्तै पुर्वउपप्रधानमन्त्री तथा मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री, सांसद र संवैधानिक निकायका भुतपूर्व पदाधिकारीहरुलाई बढीमा १० लाख रुपैया सम्म मात्रै सरकारले दिन पाउने भएको छ ।  साथै साहित्य, सङ्गीत, कला, राजनीति, सार्वजनिक प्रशासन, लगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका महत्वपूर्ण व्यक्तिलाई रोगको प्रकृति हेरी बढीमा ५ लाख रुपैया सम्म औषधि उपचार सहायता उपलब्ध गराइने व्यवस्था पनि कार्यविधिमा व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।