नेपालमै पहिलोपटक काव्य सप्ताहको आयोजना हुँदै
कपन अनलाइन, पौष ८, २०७३
नेपालको साहित्यिक इतिहासमा पहिलोपटक आयोजना गरिन लागेको काव्य सप्ताह भोलि उद्घाटन हुनेछ । ७ दिनसम्म आयोजना गरिन लागिएको काव्य सप्ताहमा ५२ जना कविहरुले जनही करिब ३० घण्टा कविता वाचन गर्नेछन् भने अतिथि कविहरुले पनि कविता वाचन गर्ने कार्यक्रम रहेको बताइएको छ । आयोजक कमिटिका सचिव तथा कपन बानेश्वर साहित्यिक पत्रिकाका सम्पादक निबन्ध आचार्यका अनुसार कार्यक्रममा हरेक दिन ८ जना कविहरुले आफ्नो कविता वाचन गर्नेछन् ।
नेपाली साहित्यको इतिहासमै पहिलोपटक आयोजना गर्न लागिएको महत्वपूर्ण कार्यक्रम भएकाले कार्यक्रमलाई महत्वपूर्ण र औचित्यपूर्ण बनाउने तयारी भएको सचिव आचार्यले कपन अनलाइनलाई बताएका छन् । ९ गतेदेखि १५ गतेसम्म संचालन हुने सप्ताहव्यापी कविता वाचन कार्यक्रमको मुख्य उद्धेष्य साहित्यिक संग्रहालय स्थापना रहेको आचार्यले बताए ।
कामनापा ६ बौद्ध रामहिटीस्थित साहित्य सदनको प्रेक्षालयमा हुने कार्यक्रमको सबै तयारी पूरा भएको बताइएको छ । काव्य सप्ताहमा डा. रामप्रसाद ज्ञवाली, दिव्य गिरी, प्रकाशमणि दाहाल, विजय विश्वास, भुवनहरि सिग्देल, वियोगी बुढाथोकी, बाजुराम पौडेल, वेदमणि घिमिरे, त्रिलोचन आचार्य, विजय चालिसे, डा. सन्दर्भ गिरी, पुण्यराज पुडासैनीलगायत ५२ जना नयाँ पूराना कविहरुले आफ्नो कविताहरु वाचन गर्नेछन् ।