“सबै पुस्तकलाई एउटै कोटीमा राख्न सकिँदैन”सरकार पुस्तक सम्बन्धि महत्वपूर्ण नीति ल्याउने तयारीमा

“सबै पुस्तकलाई एउटै कोटीमा राख्न सकिँदैन”सरकार पुस्तक  सम्बन्धि महत्वपूर्ण नीति ल्याउने तयारीमा

 

कपन अनलाइन, ४ पुस, २०७३

सरकारले छिटो पुस्तक र पुस्तकालय नीति सार्वजनिक गर्ने भएको छ । डा डिल्लीरमण रेग्मीको १०४औँ जन्मजयन्ती एवम् शान्ति दिवसका अवसरमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले पुस्तक र पुस्तकालय नीति तयार पार्नका लागि गृहकार्य गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाइसकेकाले नीति ल्याउने तयारी गरिएको बताएका हुन्  ।

“कल्पनाका आधारमा लेखिएका पुस्तक र अन्वेषणका आधारमा लेखिएका पुस्तकलाई एउटै कोटीमा राख्न सकिँदैन, नीति नहुँदा पुस्तकका विषयमा निर्णय गर्न समस्या भएको छ, यसैले छिटै नीति ल्याउने तयारी भएको छ”– उनले भने। नीति नहुँदा स्रष्टाको योगदानको कदर हुन नसकेको मन्त्री पौडेलको भनाइ थियो । डा रेग्मीले जनतालाई सन्तति मान्दै आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान दिने उच्चस्तरीय निर्णय गर्नुभएकाले यसलाई पछ्याइनुपर्ने धारणा उनको थियो ।

मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा रेग्मीले सरकारलाई दान दिएको पुस्तकालयमा इतिहास, राजनीति शास्त्र र अङ्ग्रेजीका दुर्लभ पुस्तक सङ्ग्रहित रहेको जानकारी दिए । समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले भविष्यका कर्णधार देशभरका पुस्तकालयमा बाल कक्षको व्यवस्था अनिवार्य हुनुपर्ने नियम लागू गर्न शिक्षा मन्त्रालयसँग माग गरे। इतिहासविद् चित्तरञ्जन नेपालीले डा रेग्मीको व्यक्तित्वमाथि प्रकाश पार्दै उनी नेपालकै म्याट्रिकमा सर्वप्रथम हुने, एमएड र विद्यावारिधि गर्ने पनि पहिलो नेपाली व्यक्तित्व हुनुभएको तथ्य सुनाए ।

समितिका पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले राष्ट्रिय पुस्तकालय बोरामा थन्किएकाले उचित स्थानमा छिटो निर्माण गरिनुपर्नेतर्फ मन्त्रीको पौडेलको ध्यानाकर्षण गराए । कार्यक्रममा समितिका सदस्य चित्रप्रसाद देवकोटाले पुस्तकालयमा २५ हजार पुस्तकको सङ्ग्रह रहेको जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।