भ्रष्टचारविहीन मुलुक बनाउने स्वाभिमानी नेपाली उठ्नुपर्ने
कपन अनलाइन, काठमाडौँ, १४ मङ्सिर ।
मुलुकलाई भ्रष्टाचारविहीन बनाउन सबै स्वाभिमानी नेपाली एक हुनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।
‘स्वाभिमानी नेपालीको खुल्ला आह्वान तीव्र विकास र समृद्धिका निमित्त’ विषयक आज यहाँ आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न स्वाभिमानी नेपालीले अभियानै चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रष्टाचाररहित समाज निर्माण र कानुनको शासनका लागि राजनीतिक दलदेखि सम्पूर्ण सरकारी संयन्त्रमा भ्रष्टाचार बिरोधी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभो ।
बारका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले देशमा लोकतन्त्र आए पनि जनताले यसको अनुभूति गर्न नपाएको विचार व्यक्त गर्नुभयो ।
भ्रष्टाचार मौलाउँदै गए देश मात्र नभई सम्पूर्ण नेपाली नागरिक पनि यसबाट प्रभावित हुने भएकाले त्यसको विरुद्ध आवाज उठाउनुपर्नेमा उहाँको जोड थियो ।
अर्का पूर्व अध्यक्ष शम्भु थापाले भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा कारबाही अघि बढाउन आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
भ्रष्टाचार उन्मूलन अभियान्ता कृष्ण केसीले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलका नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र यसका लागि स्वाभिमानी नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो । रासस (श्रव्य सामग्री उपलब्ध छ)