मन्दिर संरक्षणका लागि धार्मिक वन
कपन अनलाइन, काठमाडौँ, २३ कात्तिक ।
वन विभागले धार्मिक महत्वका क्षेत्रको संरक्षण र संवद्र्धनका लागि धार्मिक वनलाई प्राथमिकता दिएको छ ।
मन्दिरको संरक्षणका लागि वनबाट उत्पादन भएको काठ बिक्री वितरण गरेर सञ्चालन गरिने भएकाले यस्तो वन संरक्षण गर्न प्राथमिकता दिइएको हो । विभागका उपसचिव प्रकाश लम्सालले सनातनदेखि चलेको परम्परालाई निरन्तरता दिन तथा दस्तावेजीकरण गर्न धार्मिक वनलाई महत्व दिएको बताउनुभयो ।
वन ऐन २०४९ को परिच्छेद– ६ को ३५ नं बुँदामा धार्मिकस्थल वा त्यसको वरिपरीको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्ता वनको क्षेत्रफल, चार किल्ला, वनमा गरिने कार्य तोकेर जिल्ला वन कार्यालयमा बुझाएपछि धार्मिक वन प्राप्त गर्न पाउने प्रावधान छ ।
हाल नेपालमा एकहजार १७१ हेक्टर क्षेत्रफलमा ७१ धार्मिक वन रहेका छन् । सामुदायिक, कबुलियती, राष्ट्रिय वनजस्तो धार्मिक वनमा भने काठ चोरी नभएको लम्सालको भनाइ छ । तनहुँमा २१, कञ्चनपुरमा सात, नवलपरासीमा छवटा, काठमाडौँमा पाँच र कपिलवस्तुमा चारवटा धार्मिक वन रहेका छन् ।
यस्तै साउनमा मात्र कैलालीमा मुस्लिम समुदायको नाममा मुस्लिम मदरसा धार्मिक वन हस्तान्तरण गरिएको छ । मुस्लिम समुदायको नाममा स्थापना भएको उक्त वन पहिलो धार्मिक वन हो । रासस